News

प्रधानमन्त्रीलाई रावलको प्रश्न– तक्मामा चुच्चे नक्सा नराखिनुको आशय के हो ?

प्रधानमन्त्रीलाई रावलको प्रश्न– तक्मामा चुच्चे नक्सा नराखिनुको आशय के हो ?

नेकपाका निलम्वित नेता भिम रावलले शुक्रवार वितरण गरिएका विभुषणमा नेपालको पुरानै नक्सा राखिएको विषयमा प्रधानमन्त्रीसँग जवाफ मागेका छन् ।

शनिवार ट्वीट गर्दै नेता रावलले राष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्सामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो भन्दै प्रश्न गरेका छन् । 

रावलले ट्वीटरमा लेखेका छन्–‘राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो? प्रधानमन्त्रीले तुरून्त जबाफ दिनुपर्छ। यसो हुनुको कारण कतै वालुवाटारमा प्रधानमन्त्रीको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसंगको मन्त्रणा त होइन?

यति मात्रै होईन, संविधानको संरक्षक (राष्ट्रपति) बाटै प्रदान गरिएको उक्त विभूषणलाई लिएर हरेक क्षेत्रमा आलोचना सुरु भएको छ। विभूषणको मध्य भागमा देशको पुरानै नक्सा र त्यसमाथि राष्ट्रिय झन्डा अंकित लोगो छ । यो लोगो संविधान विपरीतसमेत भएको विज्ञहरु वताउँछन् ।

संविधानको धारा ९ (२) मा ‘नेपालको निसाना छाप अनुसूची ३ मा उल्लेख भएबमोजिम हुनेछ’ भनिएको छ । सरकारले लिम्पियाधुरासम्मकै भूभाग समेटेर गत जेठमा जारी गरेको नक्साअनुसार गत असार ४ मा संविधानको अनुसूची ३ संशोधन गरिएको छ । संविधानको संरक्षक राष्ट्रपति हुने संविधानमा उल्लेख गरिएको छ । तर, गलत नक्सा भएको विभूषण राष्ट्रपतिबाटै वितरण गरिनु आश्चर्य भएको उनीहरु वताउँछन् । 

विशेष