News स्वास्थ्य

कोरोना खोपको प्रभावकारिता कम भएको चीनद्वारा स्वीकार

कोरोना खोपको प्रभावकारिता कम भएको चीनद्वारा स्वीकार

चीनले आफ्नो देशमा उत्पादन भएका कोरोनाविरूद्धका खोपको प्रभावकारिता कम भएको स्वीकार गरेको छ ।

चाइना सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक गाओ फूले खोपको प्रभावकारिता कम भएकाले प्रभावकारिता बढाउन अरू खोपसँग मिसाउनेबारे सोचिरहेको बताएका छन्। उनले प्रतिरक्षा प्रणाली बलियो पार्ने प्रक्रियामा फरक प्रविधिबाट बनेका फरक खोप प्रयोग गर्नेबारे छलफल भइरहेको बताए। 

विश्वभर खोपको प्रभावकारिता घटीबढी हुनु स्वभाविक भएको भन्दै फूले भिन्न प्रविधिका खोप लगाउने र दुई मात्राबीचको समय बढाउँदा यसको प्रभावकारिता बढाउन सकिने उल्लेख गरे। चीनमा चार वटा कम्पनीले कोरोनाको खोप निर्माण गरेका छन् ।

यद्यपि अरु देशमा गरिएको परीक्षणमा यसको प्रभावकारिता ५० प्रतिशत भन्दा कम पाइएको छ । हालै मात्र ब्राजिलमा गरिएको एक अनुसन्धानमा चिनियाँ कम्पनी सिनोभ्याकले बनाएको खोपको प्रभावकारिता ५० दशमलब ४ प्रतिशतमात्रै देखिएको थियो ।

चीनले आफ्नो देशमा उत्पादन भएका खोप लगाएका व्यक्तिलाई मात्र भिसा दिने जनाएको छ । करिब १६ करोड बढी चिनियाँले खोप लगाइसकेका छन् ।
 

विशेष