News अपराध सुरक्षा

प्रहरी र नेता सबैलाइ किनेको दाबी गर्छन भेटवाल !

प्रहरी र नेता सबैलाइ किनेको दाबी गर्छन भेटवाल !

समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई भौतिक आक्रमण, सञ्चार उपकरण तोडफोड र ज्यान मार्ने धम्की दिएपछि काठमाण्डौंको पुरानो वस पार्कमा निर्माणाधिन ‘काठमाण्डौं भ्यू टावर’ का मुख्य ठेकेदार मनोज भेटवाल विवादमा तानिएका छन् ।

पत्रकार माथि आक्रमण गरेर भेटवालले एउटा गल्ति गरे। भने अर्कोतर्फ पत्रकारलाई रिपोर्टिङ्गमा अवरोध गरेर उनले निर्माणका क्रममा भईरहेको अनियमित काम ढाकछोप गर्ने प्रयास गरे। यि दुवै कारणले अहिले उनी समाचार माध्यमहरुमा छाईरहेका छन् ।

समग्रमा पत्रकारलाई दुब्र्यवहार र आक्रमण गरेपछि उनी चर्चामा आए । तर, यो विषय पत्रकारसँग मात्र जोडिएको छैन । भेटवालले गरिरहेका गलत कामको पर्दाफास गर्दा खोज्दा पत्रकार दुब्र्यवहारको शिकार भएका हुन् । यो विषय भ्यू टावर निर्माणको प्रारम्भ देखि नै जोडिदै आएको छ। 

भ्यु टावर निर्माणमै खेलाँची
महानगरसँग अरबौंको सम्पत्ति हुने, राजस्व वृद्धि हुने र पर्यटकलाई पनि काठमाडौं हेर्ने माध्यम हुने देखेपछि २०६८ असार २६ गतेको नगरपरिषद् बैठकले बहुतलीय बहुउद्देश्यीय टावर निर्माण गर्ने निर्णय पारित ग¥यो। जसका लागि पुरानो बसपार्कको २३ रोपनी ५ आना ३ दाम १ पैसा जग्गा छानियो। सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा टावर निर्माणका लागि ०६८ चैतमा ठेक्का आह्वान भयो। आठ कम्पनीले टेन्डर हाले। सबैभन्दा बढी रोयल्टी बुझाउन कबोल गर्ने मनोज भेटवालको जलेश्वर–स्वच्छन्द बिकोइ बिल्डर्स प्रालिले ठेक्का पायो।

भवनको आवश्यकता नभएको, ठेक्कामा प्रक्रिया मिचिएको लगायतका विषयसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी प¥यो। ०६९ मंसिर २८ गते अख्तियारले टावर निर्माण रोक्न निर्देशन दियो। २०७० वैशाख २४ गते सम्झौता नेपाली भाषामा गर्ने, जग्गाको ४० प्रतिशत क्षेत्रमा मात्र भवन निर्माण गर्ने, ६० प्रतिशत खुला राख्ने र जमिनमूनिसहित तीन तल्ला पाकिङ्ग वनाउने निर्देशनसहित आयोगले रोक्का फुकुवा गर्यो ।

यति मात्रै होईन, कलंकी र गोंगबुमा आकाशे पुल बनाएका भेटवालको कम्पनीले महानगरलाई पैसा तिर्न बाँकी रहेको र उनीसँग त्यत्रो भवन बनाउने पैसा पनि नभएको भन्दै संसदको सार्वजनिक लेखा समितिमा उजुर प¥यो। माओवादी नेता जनार्दन शर्मा सभापति रहेको समितिले ०७१ फागुन ४ गते नियम, विधि तथा प्राविधिक रूपले सम्झौता गरी काम अघि बढाउन निर्देशन दियो ।

महानगरपालिकाले ०७१ फागुन २२ गते कम्पनीसँग सार्वजनिक–निजी साझेदारीको मोडलमा २९ तले बहुउद्देश्यीय टावर निर्माण सम्झौता गर्यो। ठेकेदारसँग २९ तलाको सम्झौता गरे पनि शहरी विकास मन्त्रालयले त्यहाँ १२ तलाभन्दा ठूलो भवन बनाउन नमिल्ने बताएको छ। 

०७२ भदौमा महानगरले १२ तले भवनकै नक्सा पास पनि गरेको छ। तीन वर्षभित्र भवन बनाइ सक्ने सम्झौता भयो। तर, अहिले पनि २९ तलानै निर्माण गर्ने गरी काम अघि वढिरहेको छ । 

सम्झौता हुँदा टावर बनाउन झन्डै ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। अहिले यो लागत बढेर साढे पाँच अर्बभन्दा बढी पुग्ने देखिन्छ। तर ठेक्का पाएको कम्पनीसँग यत्रो पूँजी लगानी गर्ने क्षमता छैन। काम गर्नेलाई पैसा नदिएर सधैं घेरिएर रहने गरेका भेटवालको ‘काठमाडौ भ्यु टावर’ वनाउने हैसियत नरहेको आसेपासेहरु नै वताउँछन् । सधैं विवादमा परिरहने, चेक वाउन्सको समस्या आईरहने र ब्यवहार राम्रो नभएका कारण बैंक तथा बित्तीय सस्थाले पनि उनलाई पत्याउन छाडेका छन् । 

ठकेदार कम्पनीले तीन वर्षसम्म भवन बनाउँदा जग्गाको भाडा वार्षिक ९८ लाख ३४ हजार र भवन बनिसकेपछि वार्षिक २ करोड ७० लाख रूपैयाँ महानगरलाई दिने सम्झौतामा उल्लेख छ। यो सर्त २९ तलाको भवन बन्दा लागु हुने हो। कम्पनीले ३० वर्ष सञ्चालन गरेर भवन महानगरलाई हस्तान्तरण गर्ने गरी सम्झौता भएको छ।

यसरी सुरु भयो झमेला
यि यावत समस्या झेल्दै भेटवालले ०७३ साउनबाट टावर निर्माणको काम सुरु गरे । टावर निर्माणका लागि भारतीय निर्माण कम्पनीसँग सम्झौता गरिएको छ। तिनै मध्येका एक हुन– भ्यालुरुपाली हेमचन्द्र। उनका अनुसार करिव ८ करोडको काम गर्ने गरी भेटवालले सम्झौता गरेका छन् । सोहि अनुसार करिव ३ करोडका मेसिन र म्यान पावरसहित हेमचन्द्र काम गर्नका लागि काठमाण्डौ आए । आधाभन्दा वढि काम गरिसकेपछि भेटवालले आफुलाई कामवाट वेदखल गरेको उनले वताए । ‘मेरा मेसिनहरु सवै कब्जा गरेको छ, लोकल कम्पनीलाई मेसिन दिएर काम गराउँदै गरेको सुनेको छु। कागजपत्र सवै उसैसँग छन्, भन्सार वुझाउन पाएको छैन । काम गर्ने सम्झौता पनि तोडिएको छैन’ उनले भने–‘अयोग्य कामदारसँग मापदण्ड विपरित कामहरु भईरहेको छ। भोली दुर्घटना भयो भने सम्झौता अनुसार मलाई नै कारवाही हुन्छ। तर, मैले काम गर्न पाएको छैन।’

भेटवालले आफुले पाउने रकम समेत नदिएको उनले गुनासो गरे। ‘कम्पाउण्ड भित्र छिरिस भने मान्छे लगाएर सिद्याई दिन्छु भन्छ। त्यहाँ भित्र छिर्ने हिम्मत पनि छैन’ भेटवालको विषयमा जानकारी दिन नेपाल आजको कार्यालयमा आएका हेमचन्द्रले भने–‘प्रहरीमा गएपनि मेरो कुरा कसैले सुन्दैन। प्रहरी त म खल्तिमा राख्छु भनेर धम्की दिन्छन्। कतैवाट सहारा नपाएपछि म यहाँ आएको हुँ।’

म भारतीय नागरिक भएकैले काठमाण्डौंमा हेपीएको र शोषणमा परेको भन्दै हेमचन्द्रले गुनासो गरेपछि सोमवार नेपाल आजका सञ्चारकर्मी माधव गुरागाई काठमाण्डौं भ्यु टावरको निर्माण स्थलमा पुगे । तर, भेटवालले दाजु भैरव र सुपरभाईजरसहित पत्रकारमाथि नै आक्रमण गरे । पत्रकारलाई दुब्र्यवहार, आक्रमण, संचार सामग्री तोडफोड र ज्यान मार्ने धम्की दिएका उनी सोहि समयदेखि मोवाईल स्विच आफ गरेर सम्पर्क विहिन छन् । 

भारतीय नागरिक हेमचन्द्रले नेपाल आजमा आएर मनोज भेटवालका विषयमा गरेको गुनासो तथा मनोज भेटवालले सञ्चारकर्मीसँग गरेको दुर्ब्यवहार  हेर्न र सुन्न तलको लिंकमा क्लिक गर्नुहोला।

 

यो पनि

अव काठमाण्डौंमा यि ब्यक्तिका कारण ट्राफिक जाम वढ्ने, महानगरको सम्पत्तिमा भेटवालको रजाई

अनियमितताको रिपोटिङ्ग गर्ने सञ्चारकर्मीमाथि भौतिक आक्रमण, सञ्चार उपकरण तोडफोड

ज्यान मार्ने धम्की काठमाण्डौं भ्यू टावर मनोज भेटवाल

विशेष