News

एकताको झण्डालाई फेरि माथि उठाउनुपर्छ :अध्यक्ष दाहाल

एकताको झण्डालाई फेरि माथि उठाउनुपर्छ :अध्यक्ष दाहाल


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामथ्र्य पैदा हुने  विश्वास व्यक्त गरेका छन । नयाँ वर्ष २०७८ को अवसरमा अध्यक्ष दाहालले एक शुभकामना सन्देश दिदै कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम ऐक्यबद्धताका लागि अपिल गरे ।
नेपाली जनताको आकांक्षा र पार्टी नेतृत्वको दूरगामी सोचका कारण कम्युनिष्ट पार्टीहरूबीच एकता कायम भएको उल्लेख गर्दै उनले कम्युनिष्ट पार्टीबीचको एकतालाई प्रतिगामी प्रतिक्रियावादीले षड्यन्त्रमूलक ढङ्गले विभाजन गरेको स्मरण गरे ।
देशलाई अग्रगतिमा लैजान र जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको स्पष्ट पार्दै अध्यक्ष दाहालले सबै पक्षलाई  एकताबद्ध हुन आह्वान गरे । उनले सन्देशमा भनेका छन, “अबको हाम्रो समाजवाद कस्तो हुने,  यसको अर्थनीति र राजनीति कस्तो हुने र राज्य संरचना कस्तो हुने भन्ने प्रश्नको जवाफ हामीले दिनुपर्ने भएको छ । वर्ग सङ्घर्ष, उत्पादनका निम्ति सङ्घर्ष र वैज्ञानिक प्रयोगजस्ता समाज विकासका नियमलाई आत्मसात् गर्दै विचारको विकास गर्न पनि उत्तिकै आवश्यक छ ।”
अध्यक्ष दाहालले कृषि, उद्योग र अन्य व्यवसायलाई समाजवादी स्वरुप दिने भन्ने योजना र अभियान सञ्चालन गर्दै सूचना प्रविधिमा आएको विकासलाई उत्पादन र वर्ग सङ्घर्षका निम्ति व्यवहारिक प्रयोग गर्ने सोच र संस्कृति नेपाली मौलिक समाजवादको आधार बन्न सक्ने बताए । नयाँ वर्षले नेपाली मौलिकतासहितको समाजवादको लक्ष्यमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै अध्यक्ष दाहालले विभिन्न समुदायमा रहेका नेपाली जनसमुदायबीच एकापसमा भाइचारा र घनिष्ठता अभिवृद्धिको शुभेच्छासहित प्रगतिको कामना गरे ।
 

पुष्पकमल दाहाल नेपाल कम्युनिष्ट पार्टी

विशेष