News राजनीति

सरकारी एमालेमा भाँडभैलो, सचिव वन्न तीन जनाको मारामार

सरकारी एमालेमा भाँडभैलो, सचिव वन्न तीन जनाको मारामार

आफ्ना समर्थकहरुवीच ‘बा’को नामले चिनिनुहुने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका प्याराहरूले लाभको पद पाउने तर पार्टीका लागि रगत, पसिना बगाउनेहरु कर्नरमा पर्ने हुँदा सरकारी एमालेभित्रै लफडा आइलागेको छ । देशभर ओली र माधव नेपालका नाममा समानान्तर गतिविधि चलिरहँदा रसुवामा भने ओली पक्षमै दुई फ्याक देखिएको हो ।

सरकारी एमालेका दुई नेताले आफूलाई सचिवमा दाबी गरेपछि त्यहाँभित्रको विवाद सतहमा आएको छ । सरकारी एमालेको एक समूहले केही दिनअघि पूर्व सांसद जनार्दन ढकाललाई पार्टी सचिव भनेर प्रचार गरेको थियो । हिजो फेरि त्यहि समूहका पुराना नेता विजय लामाले समेत आफूलाई सचिवमा दाबी गरेपछि ‘बा’ भन्नेहरू नै विभाजित बनेका हुन् ।


६६ जिल्लामा छुट्टै कमिटी बनाइसकेको दाबी गरेको माधव पक्षले शिव लामिछानेलाई यसअघि नै सचिव तोकेको छ । हिजो पार्टीको झण्डा र चुनाव चिन्हसहित सार्वजनिक गरिएको नयाँ वर्षको शुभकामना सन्देशमा तीनै जनाले आफूलाई सचिव उल्लेख गरेका छन् ।

केन्द्रीय राजनीतिमा ओलीको पक्षमा खुलेका ढकाल र लामाको राजनीतिक इतिहास भने फरक छ । लामा पुराना नेता हुन् भने ढकाल २०७० पछि राजनीतिमा उदाएका हुन् । लामा तत्कालीन एमाले रसुवाको अधिवेशनबाट जिल्ला सचिव बनेका थिए । हाल उनी जिल्ला सचिवालय सदस्य तथा गोसाईंकुण्ड गाउँपालिकाको इञ्चार्ज छन् । लामो समय एमालेमा योगदान गरेका लामालाई पन्छाएर २०७० को निर्वाचनताका एमाले प्रवेश गरेका ढकाललाई सचिव बनाइएपछि असन्तुष्टि चुलिएको बताइन्छ ।

रसुवा एमालेमै लागेर राजनीतिको भोटो फटाएका र अधिवेशनबाट जिल्ला सचिव बनेका लामाले भने, ‘ढकालले एकलौटी ढंगले जिल्ला कमिटीमा छलफलै नगरी सचिव भएको हल्ला फिँजाए । यसको निसाफ र हिसाबकिताब ९ गते डाकिएको पार्टी बैठकबाट खोजिने छ ।’

केन्द्रीय राजनीतिमा पहुँच राख्ने भनेर चिनिएका ढकालले नेतालाई खुशी बनाएर सचिव हात पारेको ओलीपक्षकै नेताहरूले बताएका छन् । ढकाल त्यो भेगमा चिनिएका ठेकेदार समेत हुन् । उनको पार्टी महासचिव ईश्वर पोखरेलसँग घनिष्ट सम्बन्ध रहेको बताइन्छ । पोखरेलसँगको सम्बन्धकै कारण कनिष्ठ भए पनि ढकालले सचिव हत्याएको एमाले रसुवाका एक जना नेताले दाबी गरेका छन् ।

उनी भन्छन् ‘एउटै व्यक्तिलाई दुई पटक सांसदको टिकट, केन्द्रीय सदस्य र अहिले सचिवको जिम्मेवारी दिँदा जिल्लाका अरु नेता तथा कार्यकर्ताको मानमर्दनसिवाय केही भएको छैन । झन् आदिवासी जनजातिको निम्ति यो साह्रै दुःखलाग्दो कुरो हो । यो त के को मुखमा कुभिण्डो भनेझैँ भएन र !’

यता, एउटै पार्टीमा तीन जना सचिव देखिएको भन्दै माओवादी केन्द्र रसुवाका एक नेताले सामाजिक सञ्जालमा मिलेर जान सुझाव दिएका छन् । केन्द्रमा दुई जना अध्यक्षको व्यवस्था गर्दा नेकपा विभाजन भएको उदाहरण दिँदै उनले लेखेका छन्, ‘दुई जना अध्यक्ष र दुर्घटना पनि भोगियो । तर,रसुवामा त एउटै पार्टीमा तीनजना सचिव देखियो, दुर्घटनामा नजाओस् शुभकामना !’
यो सामग्री जनआस्थावाट साभार गरिएको हो।

विशेष