News

मुन्धुम ट्रेल अवलोकनमा स्वीस राजदूत एलिजावेथ

मुन्धुम ट्रेल अवलोकनमा स्वीस राजदूत एलिजावेथ

नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदूत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका आउनुभएको छ ।

पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको रमणीयस्थलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माणको काम शुरु गरिएको मुन्धुम ट्रेल अवलोकन गर्न स्वीस राजदूत एलिजावेथसहितको टोली खोटाङको साकेला गाउँपालिका आउनुभएको हो । साकेला–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङलाई मुन्धुम ट्रेलको शुरु विन्दु (प्रवेशद्वार) मानिएकाले राजदूत एलिजावेथ खोटाङ आउनुभएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “स्वीस राजदूतसँग समग्र विकास प्रक्रियाको अवस्थाका साथै विशेषगरी पर्यटन प्रवद्र्धनका विषयमा छलफल गरियो”, उहाँले भन्नुभयो, “छलफलका क्रममा निर्माणाधीन अवस्थामा रहेको मुन्धुम ट्रेलका लागि स्वीस सरकारका तर्फबाट आवश्यक सहयोग रहने बताउनुभएको छ ।” स्वीस राजदूत एलिजावेथलाई गाउँपालिका प्रमुख झङ्कार, उपप्रमुख सरिता खड्कालगायतले स्वागत गर्नुभएको थियो । गाउँपालिकाको कार्यालयमा आयोजना गरिएको भेटघाटका क्रममा राजदूत एलिजावेथसँग गाउँपालिकाको समग्र विकास प्रक्रियाका बारेमा समेत छलफल भएको गाउँपालिका प्रमुख भङ्कारले बताउनुभयो । मुन्धुम ट्रेलका लागि निर्माणाधीन पूर्वाधार विकासका गतिविधि अवलोकन गर्दै मङ्गलबार साकेला गाउँपालिका आइपुगेको राजदूत एलिजावेथको टोली तावाभञ्ज्याङबाट टेम्के हुँदै चखेवा भञ्ज्याङतर्फ गएको छ ।

खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको रमणीयस्थल चखेवा भञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पापोखरी, सिलिचुङडाँडालगायतको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७५ सालमा मुन्धुम ट्रेलको अवधारणा अघि सारिएको हो । साकेला गाउँपालिकाभित्र पर्ने खण्डमा स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीस सरकारको ३५ प्रतिशत गरी रु ९१ लाख ४५ हजार २५२ मा मुन्धुम ट्रेलको काम भइरहेको जनाइएको छ । त्रिपक्षीय सम्झौताका आधारमा निर्माण शुरु गरिएको मुन्धुम ट्रेल नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमध्ये सबैभन्दा पहिलो प्राथमिकतामा परेको छ । यस वर्ष उक्त पदमार्गको दायाँबायाँ चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्नेलगायतका आधारभूत पूर्वाधारको काम भइरहेको छ । खोटाङ र भोजपुरको पर्यटन विकासमा मुन्धुम ट्रेलले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको प्रदेशसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’ले बताउनुभएको छ ।

पदमार्गको यात्रा गर्दा दूधकुण्ड (नुम्बुर), मकालु, सगरमाथा, कुम्भकर्ण हुँदै कञ्चनजङ्घा समेतको हिमाली श्रृङ्खला अवलोकन गर्न सकिने जनाइएको छ । ठूल्ठूला घाँसे मैदान, लमतन्न फैलिएका चौँरीखर्कहरु तथा भेडीगोठको बीचबाट डाँडाको शिरैशिर दम्साइलो बाटो उक्त पदमार्गको विशेषता रहेको छ । गुराँस, चाँप, कटुस तथा लोक्ताको घना जङ्गल अवलोकन गर्न पाइने मुन्धुम पदयात्रामा डेढ÷दुई घण्टाको दूरीमा परम्परागत गाउँघर भेटिनु अर्को विशेषता रहेको छ । पदमार्गमा पर्ने अधिकांश बस्ती किराँत समुदायको भएको तथा किराँतीको मौखिक ग्रन्थ ‘मुन्धुम’मा किराँती जीवनशैली तथा संस्कार÷संस्कृतिका बारेमा वर्णन हुने भएकाले पदमार्गको नाम मुन्धुम राखिएको हो । पर्यटन प्रवद्र्धनका लागि मुन्धुम ट्रेलको प्रवेशद्वारमा पर्ने तावा भञ्ज्याङमा कृत्रिम ताल निर्माण गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार पारिएको छ । प्राकृतिकरूपमै पर्यटकको रोजाइमा पर्ने तावा भञ्ज्याङमा प्रदेश नं १ कै नमूना तथा ठूलो कृत्रिम ताल निर्माण गर्ने तयारीका साथ डिपिआर तयार गरिएको हो ।

करीब रु ५६ करोड लागतमा निर्माण गरिने कृत्रिम तालका लागि प्रदेश नं १ सरकार र साकेला गाउँपालिकाको लगानी हुने गाउँपालिका प्रमुख झङ्कारले बताउनुभएको छ । समुन्द्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाइमा रहेको तावा भञ्ज्याङमा साढे ६०० मिटर लम्बाइ र ५०० मिटर चौडाइको कृत्रिम ताल निर्माण हुँदैछ । तीन वर्षभित्र पूरा गर्ने योजनाका साथ निर्माण गरिने कृत्रिम तालको काम आर्थिक वर्ष लाग्ने बित्तिकैबाट शुरु गरिने गाउँपालिकाले जनाएको छ । ताल निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकलाई करिब तीन घण्टासम्म डुङ्गा सयर गराउने, पौडी खेलाउन र दृश्यावलोकन गराउनका साथै तालभित्र माछा तथा हाँसपालन लगायतका क्रियाकलाप गर्न सहज हुने अपेक्षा गरिएको छ । भोजपुरको पाँचधारे तथा टेम्केको फेदमा पर्ने तावा भञ्ज्याङको माथिल्लो भेगमा शहीद पार्क निर्माण गर्ने योजनासमेत प्रदेश सरकारबाट स्वीकृत भएर आएको गाउँपालिकाले जनाएको छ । शहीद पार्कका लागि प्रदेश सरकारबाट रु १५ लाख बजेट प्राप्त भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले बताउनुभयो ।

खोटाङको साकेला गाउँपालिका स्वीस राजदूत एलिजावेथ भोन क्यापलर

विशेष