News

अग्निपीडितलाई तत्काल राहत दिन्छौँ : मुख्यमन्त्री राई

अग्निपीडितलाई तत्काल राहत दिन्छौँ : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अग्निपीडित परिवारको उद्धार र राहतका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

आगलागीबाट धनमालसहित घरबास गुमाएका ओखलढुङ्गाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलको घरमा पुगेर उनले अग्निपीडित परिवारलाई तत्काल उद्धार र राहत दिन प्रदेश सरकार लागिपरेको वताएका हुन्।

“आगलागीका घटना बढेकाले ठूलो जनधनको क्षति भयो । वनजङ्गलमा लागेको आगो विस्तारै नियन्त्रणमा आएपनि घरमा लागेको आगो नियन्त्रणमा नआउँदै सबै जलिसक्ने परिस्थिति छ” उनले भने– “आगोबाट छाना, खाना र नाना गुमाएका अग्निपीडितलाई प्रदेश सरकारले तत्काल राहतको व्यवस्था गर्छ ।” 

मुख्यमन्त्री राईले स्थानीय सरकार र सरोकारवालाले पनि विपद्मा परेका परिवारलाई मानवीय हिसाबले सक्दो सहयोग गर्नुपर्ने बताउँदै दुर्गम, भौगोलिक विकटता र आवश्यक उपकरण अभावका कारण आगलागीका घटना तत्काल नियन्त्रण गर्न नसक्दा वर्षेनी ठूलो जनधनको क्षति व्यहोर्नुपरेको उल्लेख गरे। 

भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले प्राकृतिक प्रकोपका अलवा मानवीय त्रूटि, अव्यवस्थित बसोबास र कमजोर विद्युतीय उपकरण प्रयोगका कारण हुने आगलागीबाट ठूलो जनधनको क्षति व्यहोर्नुपरेकाले यसतर्फ सचेत हुनुपर्ने बताए । उनले विपद्बाट बच्न सबैले सतर्कता अपनाउनुपर्नेमा जोड दिदैं सरकारबाट उपलब्ध हुने राहतले तत्कालका लागि समस्या समाधन गरे पनि स्थानीय समुदायकै साथले दीर्घकालीन संरचना निर्माणमा टेवा पुग्ने बताए । उनले भने– “सरकारले तत्कालका लागि राहतका कार्यक्रम ल्याएर सकेको सहयोग त गर्छ नै तर छरछिमेकीको सहयोग नै यस्तो बेला महत्वपूर्ण हुन्छ ।”

ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षसमेत रहनुभएका लिखु–८ का गोविन्द पौडेल र उनका भाइ वडा नं ८ का वडाध्यक्ष विशालकुमार पौडेलको घरमा बिहीबार राति आगलागी हुँदा रु ५० लाखभन्दा बढीको क्षति भएको थियो । वर्षात्सँगै परेको चट्याङका कारण आगलागी हुँदा ढुङ्गा, सिमेन्ट र जस्ताले बनेको दुईवटा पक्की घर पूर्णरूपमा जलेर नष्ट हुँदा रु ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जनाकारी दिए।

गाउँपालिका अध्यक्ष पौडलका अनुसार आगलागीका कारण घरसहित नजिकै टहरालगायत अन्य संरचना पनि केही बाँकी नरहने गरी नष्ट भएको छ । बिहीबार राति २ः१५ परेको चट्याङका कारण शुरु भएको आगो इलाका प्रहरी कार्यालय गाम्नाङटार र यसमबाट खटिएको प्रहरी टोली र स्थानीयको प्रयासमा शुक्रबार ६ः०० बजे मात्र निभाइएको थियो । सबैको प्रयासमा नजिकै रहेको अर्को एउटा घर भने जोगाइएको छ । आगलागी भएपछि भाग्ने क्रममा गाउँपालिकाका अध्यक्ष पौडेलकी बुहारी बिना पौडेल सामान्य घाइते भएकी छन् । कुनै मानवीय क्षति भने भएको छैन ।

ओखलढुङ्गामा पछिल्लो एक महिनायता दैनिकजसो आगलागीका घटना भइरहेका छन् । हरेक दिन हुने आगलागीका घटनाबाट दर्जनौँ घर गोठ तथा वनजङ्गल जलेर नष्ट भएका छन् । मन्त्री गुरुङको पहलमा मुख्यमन्त्री राई अग्निपीडित गाउँपालिकाका अध्यक्षलाई भेट्न शुक्रबार साँझ ओखलढुङ्गा आएका थिए।
(रासस)

विशेष