News

हावाहुरीले विद्यालयको छानो उडायो, घरमा क्षति

हावाहुरीले विद्यालयको छानो उडायो, घरमा क्षति

शनिवार साँझ आएको भीषण हावाहुरीसहितको वर्षाले तनहुँको बन्दीपुर गाउँपालिका–५ कल्चोकस्थित जलदेवी प्राथमिक विद्यालयको छानो उडाएको छ । दिउँसो ४ बजेतिर आएको हावाहुरीसहितको वर्षाले विद्यालयको छानो उडाउनुका साथै सोही वडाका एक महिलाको घरमा क्षति पुगेको हो । 

हावाहुरीले विद्यालयको एउटा कक्षाको छानो उडाएको वडा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन पाटाले जानकारी दिए। उनका अनुसार छानो उडाएपछि उक्त कक्षाका विद्यार्थीलाई अर्को कक्षामा राखेर पढाइने र छानो फेर्ने काम गरिनेछ । 

हावाहुरीले रुख भाँच्चिएर स्थानीय पानमाया रानाको घरमा क्षति पुगेको छ । घरमाथिको बरको रुख भाँच्चिदा रानाको घरमा क्षति पुगेको पाटाले बताए। त्यस्तै हावाहुरीले जनप्रिय बाल क्लबको भवन र भुवन रानामगरको टनेलहाउसमा पनि क्षति पुगेको छ । “वडाभित्रका अन्य क्षतिको विवरण भने आउन बाँकी छ”, उनले भने। जिल्ला प्रहरी कार्यालय तनहुँले हावाहुरीका कारण जिल्लामा भएको क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ । (रासस)

विशेष