News राजनीति

प्रधानमन्त्रीको आक्रोसः एमसीसीलाई सभामुखले संसदमा अड्काए

प्रधानमन्त्रीको आक्रोसः एमसीसीलाई सभामुखले संसदमा अड्काए

कोरोना सङ्क्रमण रोकथाम, संसदमा अड्किएको एमसीसी परियोजनालगायतका विषयमा छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जनता सामाजवादी पार्टीको वाबुराम–उपेन्द्र यादव पक्षका नेताहरु सहभागी भएका थिएनन् ।   

बैठकमा रिक्त भएको ठाउँका उपनिर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल भएको छ । कोरोना रोकथाम, एमसीसी, उपचुनाव लगायतका विषयमा छलफल भएको परराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

कोरोना महामारी बढ्दै गएकाले आवश्यक ठाउँमा विद्यालय बन्द गर्नेदेखि थप सजगताका क्रियाकलाप गर्न सबै दलले सुझाव दिएको उनले वताए ।

यसैगरी, संसद्मा अड्किएको एमसीसी परियोजनाका बारेमा गम्भीर छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए।

नेपाली काँग्रेस लगायतका दलहरुले एमसीसी पास वा फेल गर्ने अधिकार संसदमा रहेको भन्दै त्यहाँ तत्कालै छलफल गर्नुपर्ने धारणा राखेका थिए । एमसीसीलाई सभामुखले संसदमा अड्काउने काम गरेको भन्दै प्रधानमन्त्री केपी ओलीले असन्तुष्टि जनाए ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकार राष्ट्रियताको सवालमा स्पष्ट रहेको भन्दै त्यसबारे ढुक्क रहन आग्रह गरे। 

रिक्त भएका स्थानमा उपचुनाव गर्ने विषयमा छलफल भएको र नेपाली काँग्रेसले आफ्नो महाधिवेशनको कार्यतालिका नजुध्ने गरी चुनाव गर्न आग्रह गरेको ज्ञवालीले जानकारी दिए । 

विशेष