News

चार वर्षदेखि निरन्तर रुद्राभिषेक गरिँदै

चार वर्षदेखि निरन्तर रुद्राभिषेक गरिँदै

जलेश्वर

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७ मा अवस्थित नेपालकै जेठो श्री राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीमा विगत चार वर्षदेखि निरन्तररूपमा रुद्राभिषेक (महादेवको विशेष पूजा) हुँदै आइरहेको छ ।

सो विद्यालयमा अध्ययनरत १५५ बटुक (विद्यार्थी)ले एक दिन पनि नबिराई विगत चार वर्षदेखि दैनिकरूपमा रुद्राभिषेक गर्दै आइरहेको प्राधानाध्यपक ईश्वरी पौडेलले बताउनुभयो । बालागुरु षडानन्दसहित नेपालका इतिहासकै धरोहरका रूपमा चर्चित व्यक्तित्वले अध्ययन गरेको यस विद्यालयले नेपाललगायत विश्वको कल्याणार्थ अबिरलरूपमा रुद्राभिषेक गर्दै आइरहेको जनाइएको छ । सामान्य मानिसले एक दिन रुद्राभिषेक गर्दा रु एक लाखसम्म खर्च हुने तथा नानाथरी जोरजाम गर्नुपर्ने हुन्छ तर यस संस्कृत विद्यालयमा अध्ययनरत छात्रछात्राले भिक्षाटन (भिक्षा मागेर प्राप्त धन वस्तु)बाटै दैनिक रुद्राभिषेक गर्न सफल भएको प्राधानाध्यापक पौडेलले बताउनुभयो ।

यस विद्यालयमा नेपालका विकट तथा दुर्गम हिमाली तथा पहाडी जिल्ला दैलेख दुल्लुदेखि तराई मधेशको समथर भूभागमा बसोबास गर्ने विभिन्न जातजातिका १५५ बटुकहरूले संस्कृत शिक्षा अध्ययन गरिरहेका छन् । जातले विभिन्न भए पनि कर्म र शिक्षाले पण्डित बनिरहेका छन् र सबैले वैदिक मन्त्र पढिरहेका छन् ।

महोत्तरी मटिहानी नगरपालिका राजकीय संस्कृत माध्यमिक विद्यालय

विशेष