News अपराध सुरक्षा

बोक्सीको आरोपमा  निर्घात कुटपिट

बोक्सीको आरोपमा  निर्घात कुटपिट

बोक्सीको आरोपमा मुस्लिम समुदायकी एक महिलामाथि निर्घात कुटपिट भएको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका मोजिबुल रहमानकी ५० वर्षीया पत्नी गुल्शन खातुन बोक्सीको आरोपमा निर्घात कुटएकी हुन् ।

उनलाई स्थानीय जैनुद्दिन अंसारी, कलामुद्दिन अंसारी, एजाज अंसारी, रुमी अंसारी, सरफुद्दिन अंसारी र मोजिबुल अंसारीले बोक्सी भन्दै आज कुटपिट गरेका छन् । कुटपिटबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको बताइएको छ ।

कुटपिटबाट उनको टाउको, अनुहार सुन्निएको छ भने जीउभरी निलडाम देखिएको छ । आज बिहान पीडितका कान्छो छोरा गुलाम अंसारी टोलमा खेलिरहेको बेला उनीहरुले निहुँ बनाएर पहिला उनलाई कुटपिट गरेको थियो । पछि जेठा छोरा मुस्तुफा अंसारी र त्यसपछि आमा (पीडित) लाई सबैले मिलेर मरनासन्न गरी कुटपिट गरेका छन् ।

आमासँगै अहिले दुवै छोरा पनि जिल्ला अस्पताल जलेश्वरमा उपचार गराइरहेको छ भने आमाको अवस्था गम्भीर रहेको छ । कुटपिट गर्नेहरुकोे खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
(रासस)

बोक्सीको आरोपमा कुटपिट महोत्तरीको मनरासिस्वा नगरपालिका

विशेष