News स्वास्थ्य

भारतका पूर्व प्रधानमन्त्री सिंह कोरोना सङ्क्रमित, अस्पताल भर्ना

भारतका पूर्व प्रधानमन्त्री सिंह कोरोना सङ्क्रमित, अस्पताल भर्ना

भारतका पूर्व प्रधानमन्त्री डा मनमोहन सिंह कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बरिष्ठ नेता समेत रहेका सिंहलाई ‘अल इन्डीया इन्स्टीच्युड अफ मेडिकल साइन्सेस’ (एआइआइएमएस) मा भर्ना गरिएको छ ।

उनलाई शङ्का लागेर कोरोना परीक्षण गरिएकोमा सोमबार सङ्क्रमण भएको पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् । “पूर्व प्रधानमन्त्री डा मनमोहन सिंहलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ, त्यसैले उहाँलाई थप उपचारका लागि ‘एम्सको ट्रमा सेन्टर’मा भर्ना गरिएको छ,” एम्सद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।  

उनको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकको सूचीमा भारत दोस्रो अग्रपङ्क्तिमा रहेको छ । भारतमा अहिले दैनिक झण्डै पौने तीन मानिस सङ्क्रमित हुने गरेका छन् । 

भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको संख्या एक करोड ५० लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट दुई लाख ७३ हजार ८१० सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ६१९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएकोे छ  । पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको संख्या एक लाख ७८ हजार ७६९ पुगेको छ । 

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको संख्या भने १९ लाख २९ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा एक लाख २८ हजार १३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड २९ लाख ५३ हजार ८२१ पुगेको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १२ करोड ३८ भन्दा लाख व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले जनाएका छन् । रुसले विकास गरेको ‘स्पुत्निक–भी’ भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

सरकारले सवै बयस्कहरुलाई मे महिनादेखि खोप लगाउन थाल्ने भएको छ । यसअघि प्राथमिकता क्रममा परेकाहरुलाई खोप लगाउदै आएकोमा अव बयस्कहरु सवैलाई खोप लगाइने भएको हो ।  

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकले १८ बर्षभन्दा माथिका सवै व्यक्तिलाई मे महिनाको पहिलो दिनदेखि खोप लगाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
(रासस)

कोरोना सङ्क्रमित भारतका पूर्व प्रधानमन्त्री डा मनमोहन सिंह भारतीय राष्ट्रिय काँग्रेसका बरिष्ठ नेता एआइआइएमएसमा भर्ना

विशेष