आज एक बजे देखि संसदको अधिवेसन अन्त्य

काठमाडौं
मन्त्री परिषदको बैठकले संसदको चालु अधिवेसन आज एक बजे देखि अन्त्य गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको अवस्थामा विहान बसेको मन्त्री परिषदको बैठकले अधिवेसन अन्त्य गरेको छ । मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । एक मन्त्रीले भने, ‘आज दिउँसो १ बजेबाट अधिवेशन अन्त्यको निर्णय गरिएको छ ।’ जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले अधिवेशन अन्त्यको निर्णय गरिएको उनले बताए ।
हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुने छ । त्यसको मिति पनि सरकारको सिफारिसमा राष्ट्रपतिले नै तोक्ने व्यवस्था छ ।
संसद पुर्नस्थापना भएपछि गत फागुन २३ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते विघटन गरेको संसदलाई पुर्नस्थापना गर्न सर्वोच्च अदालतले फागुन ११ गते आदेश दिएको थियो ।