News राजनीति

सर्वोच्चको निर्णयप्रति प्रचण्डको आक्रोशः संवैधानिक निकायका प्रमुखहरु नै सेटिङमा चले

सर्वोच्चको निर्णयप्रति प्रचण्डको आक्रोशः संवैधानिक निकायका प्रमुखहरु नै सेटिङमा चले

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा नामको सम्बन्धमा परेको मुद्दाको फैसलामा पुनरावलोकन नगर्ने सर्वोच्चको निर्णयप्रति आक्रोश पोख्दै संवैधानिक निकायका प्रमुखहरु नै सेटिङमा चलेको आरोप लगाएका छन् ।

स्वर्गीय माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा प्रचण्डले संसद पुनःस्थापना भएपनि प्रतिगमनकारी षड्यन्त्रको अन्त्य नभएको बताए ।

‘देशभित्र र बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरुको बीचमा सेटिङ हुने। ऐन, नियम, मूल्य मान्यताले काम नगर्ने, सेटिङले काम गर्ने र त्यो सेटिङ नेपाली जनताको अधिकार, पहिचानविरुद्ध परिलक्षित हुने विचित्रको स्थितिमा छौं’– उनले भने।

सर्वोच्च अदालतले विहिवार मात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको सम्बन्धमा परेको मुद्दाको फैसलामा पुनरावलोकन गर्न अनुमति नदिने आदेश जारी गरेको थियो । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको पूर्ण इजलासले पहिलाकै फैसला सही भएको ठहर गर्दै नेकपा विवादको मुद्दाका पुनरावलोकन अनुमति नदिने आदेश गरेको हो ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको पार्टीको भएको र तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) कानूनीरूपमा अलग–अलग पार्टी भएको भनी फैसला सुनाएको थियो । उक्त फैसलाको पुनरावलोकन गर्न यही फागुन १७ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ सर्वोच्च अदालतमा पुगी पुनरावलोकन निवेदन दर्ता गराएका थिए।

पुनरावलोकन निवेदनमा गत फागुन २३ गतेको फैसला सर्वोच्च अदालतको यसअघि प्रतिपादित नजिर र सिद्धान्तको प्रतिकूल गम्भीर त्रुटिपूर्ण रहेको हुँदा पुनरावलोकन हेरी त्रुटिपूर्ण आदेश बदर गरी संविधानअनुसार इन्साफ दिलाइपाऊँ भनिएको थियो ।

अदालतले पहिलाको फैसला सही भएको ठहर गर्दै पुनरावलोकनका लागि अनुमति नदिने आदेश जारी गरेको हो ।
 

प्रचण्ड संवैधानिक सेटिङ

विशेष