News राजनीति

केपी ओली विरुद्ध माधव पक्षले लगेको रिट सर्वोच्चले दर्ता गरेन

केपी ओली विरुद्ध माधव पक्षले लगेको रिट सर्वोच्चले दर्ता गरेन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुमाथि गर्न लागेको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिशोधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भन्दै माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावल अदालत पुगेका छन् ।

आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै उनीहरु सर्वोच्च अदालत पुगेका हुन् ।


रिट निवेदन लिएर नेपालपक्षका वकिलहरू सर्वोच्च अदालत पुगे पनि अदालत प्रशासनले समय नभ्याउने भन्दै बुधबार रिट दर्ता गरेन । उनीहरु १४ बुँदे मागसहितको रिट वोकेर गएका थिए। तर, अध्ययनका लागि समय लाग्ने भएकाले दर्ता नभएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

रिटमा निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी गर्न माग गरिएको छ । 

यसैगरी, आफूहरुले दल त्याग गरेको भनी एमालेले कारवाही गर्न सक्ने पूर्ण आशंका भएकाले सो कार्य रोक्न र संघीय संसद सचिवालयलाई पनि सांसद पद रिक्त गर्ने प्रक्रियाको पत्र गएमा सो कार्य नगर्न, वैशाख १० गते नै एमालेको अर्को बैठक राखिएकोले सो बैठकबाट थप कारवाही गर्ने र त्यही आधारमा निर्वाचन आयोगले समेत विवरण सच्याउने भएकाले रिट निवेदनको किनारा नलागेसम्म सबै कारवाही यथास्थितिमा राख्न अन्तरिम आदेश माग गरिएको छ ।

अध्यक्ष ओलीले यसअघि नै निलम्वनमा परेका चार नेतासहित २७ सांसदलाई स्पष्टिकरण माग गरेका छन् । फ्लोर क्रस गरेर सरकार ढाल्ने सहमति शेरबहादुर देउवा र प्रचण्डसँग गरेको जानकारी पाएपछि संसदीय दलका नेता समेत रहेका ओलीले सांसद पदबाट किन कारवाही नगर्ने ? भन्ने व्यहोरोको स्पष्टीकरण मागेका छन् ।

विशेष