News

केपी ओली– माधव नेपाल भेटको चुरो कुरा के हो ?

केपी ओली– माधव नेपाल भेटको चुरो कुरा के हो ?

लामो समयपछि नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरूबीच वुधवार साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो ।

उनीहरूबीच पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा गम्भीर विचार विमर्श शुरु भएको हो । गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उनीहरूबीच संवाद हुन सकेको थिएन ।

फुटको संघारमै पुगेको नेपाल कम्युनिष्ट पार्टी  (एमाले) जोगाउने प्रयास स्वरुप आजको भेटलाई लिईएको छ।  भेटवार्तामा एमाले उपमहासचिव बिष्णु पौडेल पनि सहभागी रहेको बताइएको छ। 

अध्यक्ष ओलीले नेपालसहितका नेताहरूलाई पार्टीबाट निलम्बन गरेका छन् भने नेपाल पक्षले समानान्तर कमिटी बनाइरहेको छ। 
नेपाल पक्षले वुधवार मात्रै ओलीविरूद्ध सर्वोच्च अदालत गएको थियो । तर, रिट दर्ता भएको छैन ।

केन्द्रीय कमिटी खारेज गरेर महाधिवेशन कमिटी बनाउने, आफूहरूमाथि कारबाही चलाउने अध्यक्ष ओलीको निर्णय पार्टी विधान र कानुनको समेत विपरित भएको भन्दै उनीहरू सर्वोच्च गएका हुन्। 

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेका छन्।

संघीय संसदको सदस्य पदबाट किन नहटाउने भन्ने प्रश्न गर्दै कारण खुलाएर तीन दिनभित्र स्पष्टीकरण दिन ओलीले मंगलबार लिखित पत्र दिएका छन्।

माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केस, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव, नीरादेवी जैरु, रामकुमारी झाँक्री र मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोधिएको हो।

माधव नेपाललगायत ४ जना नेतालाई ओलीले छ महिनाका लागि निलम्बन गरेका छन्।

केपी ओली र माधव नेपालबीच भेट होटल मेरियटमा भेटवार्ता

विशेष