News राजनीति

ओलीका ‘कारण’ जुटेका मधेशवादी ओलीका ‘लागि’ फुट्दै !

ओलीका ‘कारण’ जुटेका मधेशवादी ओलीका ‘लागि’ फुट्दै !

एक वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि रातारात जुटेका मधेशी नेताहरु अहिले ओलीको सत्ता जोगाउन आफैँ फुटेका छन् । प्रधानमन्त्री ओलीले गत वर्षको वैशाखमा जसपा (त्यतिबेलाको समाजवादी र राजपा) विभाजन गर्नकै लागि भनेर अध्यादेश ल्याएपछि एकतावद्ध भएका नेताहरु अहिले तिनै ओलीलाई काँध हाल्न ज्यान फालेर लागेपछि विभाजनको स्थितिमा पुगेको हो ।

दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि ओलीका विश्वासपात्र सांसद महेश बस्नेत पूर्वआइजीपीलाई लिएर जसपाका सांसदलाई काठमाण्डौ ल्याउन लकडाउनको बेला रातारात मधेस झरेका थिए । जसपाका सांसद प्रदिप यादवले आफूलाई जवर्जस्ती काठमाडौँ ल्याइएको भन्दै बस्नेतमाथि अपहरणको आरोप लगाएका थिए । पछि डा. बाबुराम भट्टराईलगायतका नेताहरु उजुरी लिएर प्रहरीसम्म पुगे । ‘सांसद अपहरण’का नामले चर्चित यो घटना जसपा फुटाउनैका लागि घटाइएको कुरा बस्नेत स्वयमले पनि बताएका छन् ।


प्रधानमन्त्री ओलीलाई उच्च जातीय अहंकारवादी, पहाडे राष्ट्रवादी, नश्लवादी, मधेसविरोधी जस्ता आरोप लगाउँदै आएको जसपाकै एउटा पक्षको अहिले बालुवाटारसंग घनिष्टता बढेपछि जसपा फुटको दिशामा अघि बढेको बताइन्छ । जसपामा अहिले प्रष्ट दुई धार देखिएको छ । पूर्वराजपा पक्षका महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका नेताहरु ओलीसँग मिलेर जानुपर्ने लाइनमा छन् भने पूर्वसमाजवादी खेमाका उपेन्द्र यादव,डा।बाबुराम भट्टराईलगायत भने काँग्रेस, माओवादी र जसपा मिलेर जानुपर्ने अडानमा छन् ।

जसपाभित्रको यो लडाइँ लुम्बिनी प्रदेशमा आइपुग्दा देखिने गरी प्रकट भएको छ । लुम्बिनी प्रदेशमा विपक्षी गठवन्धनसँग मिलेर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षरको मसी सुक्न नभ्याउँदै तिनै हस्ताक्षरकर्ताहरु मन्त्री पदका लागि सरकारको पक्षमा उत्रिएपछि पार्टी अब एक हुन नसक्ने जसपाभित्रै चर्चा चल्न थालेको छ ।

सत्ताको जोडघटाउमा माहिर मानिनुहुने मुख्यमन्त्री पोखरेलले केन्द्रीय राजनीतिमा ओलीले गरेजस्तै लुम्बिनीमा पनि जसपालाई दुई कित्तामा पुर्याइदिनु भएको छ । पार्टी फुट्दा पूर्वमाओवादीका नेताहरुलाई अड्याउन ओलीले सबैलाई मन्त्री बनाएजस्तै पोखरेलले पनि त्यहि सिको गर्नुभएको देखिन्छ । पोखरेलले ६ सांसद रहेको जसपाका चार सांसदलाई मन्त्री दिएर एक तीरले दुई शिकार गर्नुभएको छ । एकातिर जसपाका सांसदहरुको साथ लिएर ढल्नै लागेको आफ्नो सरकार जोगाउनु भएको छ भने अर्कोतिर जसपा फुट्ने लगभग निश्चित छ ।

जसपामा दुई पक्षवीचको अविश्वास कुन तहसम्म पुगेको छ भन्ने कुरा हिजो अध्यक्ष उपेन्द्र यादवले दिएको एउटा अभिव्यक्तिबाट थाहा हुन्छ । लुम्बिनीमा मुख्यमन्त्री पोखरेलले जसपाका चार सांसदलाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेकोबारे सोधिएको प्रश्नमा यादवले जसपाका सांसद मन्त्री बनेको कुरा थाहा नभएको बताउनुभएको थियो । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका समेतलाई पोखरेलले मन्त्री बनाइसक्दा पनि यादव भने त्यस्तो हुने नसक्ने भन्दै अविश्वासको प्रस्तावकै पक्षमा रहेको बताइरहनुभएको थियो ।

मन्त्रीपरिषद्मा सहभागी हुनेजस्तो महत्वपूर्ण निर्णय हुँदासमेत पार्टी अध्यक्षले थाहा नपाउने गरी निर्णय हुनुले जसपाभित्रको लफडा सहजै अनुमान लगाउन सकिन्छ । सत्ताका लागि पटक–पटक फुटेको आरोप खेप्दै आएका मधेशवादी दल फेरि एकपटक सत्ताकै लागि फुटको नजिक पुगेका छन् । त्यसैले कतिपयले भन्न थालेका छन्, ‘महेश बस्नेतले जुटाईदिएको जसपा शंकर पोखरेलका कारण फुट्यो ।’
यो सामग्री जनआस्थावाट साभार गरिएको हो।

दल विभाजनसम्बन्धी अध्यादेश रातारात जुटेका मधेशी नेता ओलीको सत्ता जोगाउन फुटेका छन् काँध हाल्न ज्यान फाले

विशेष