News

प्रदेश २ को राजधानीका लागि ७ र नामका लागि ६ वटा प्रस्ताव दर्ता

प्रदेश २ को राजधानीका लागि ७ र नामका लागि ६ वटा प्रस्ताव दर्ता

प्रदेश सभा गठन भएको लामो समयपछि प्रदेश २ मा फेरी नाम र राजधानीको विषय चर्चामा आएको छ । प्रदेश सचिवालयमा राजधानीका लागि ७ र नामका लागि ६ वटा प्रस्ताव दर्ता भएका छन् । 

प्रदेश सचिवालयका अनुसार मध्यप्रदेश नामका लागि दुई दल, मधेस प्रदेशका लागि जनता समाजवादी पार्टी (जसपा) र नेकपा मओवादी केन्द्रले प्रश्ताव दर्ता गराएका छन्।

यसैगरी, नेपाली कांग्रेसले मिथिला–भोजपुरा नामको प्रस्ताव गरेको छ भने नेकपा एमालेले जनक र जानकी नाम दर्ता गराएको छ । 

नेपाली कांग्रेसकै सांसद राजेश्वर प्रसाद साहले पार्टीभन्दा छुट्टै मध्यमधेश प्रदेशको नाम प्रस्ताव गरेका छन् ।

स्थायी राजधानीको लागि सात वटा प्रस्ताव दर्ता भएको छन् । पाँचओटा प्रस्ताव जनकपुरधाम र दुईओटा वीरगञ्जको नामले दर्ता भएका छन् ।

सत्तारुढ दल जसपा, नेकपा एमाले, नेकपा माओवादी र कांग्रेसले जनकपुरधाम प्रस्ताव दर्ता गराएका हुन् । तर, सत्तारुढ दल जसपा र कांग्रेसबाट दुई÷दुई वटा प्रस्ताव दर्ता भएको सचिवालयले जनाएको छ ।

सचिवालयले ०७६ चैत ४ गते पनि प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रयास गरेको थियो । प्रदेश सभामा नामसम्बन्धी ४ वटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी तीनवटा प्रस्तावमाथि प्रदेश सभामा मतदान भएको थियो । तर, नाम र राजधानीका लागि दर्ता गराइएका प्रस्तावहरूमध्ये कुनै पनि प्रस्तावको पक्षमा दुईतिहाइ मत आउन सकेन । 

प्रदेश सभामा कुल १०७ सांसदमध्ये माओवादी केन्द्रका ४ जना सांसद निलम्बन भएपछि १०३ जना मात्रै छन् । नाम र राजधानीका लागि २ तिहाई मत अथार्त ६९ सासद आवश्यक पर्नेछ । प्रदेश २ मा हाल जसपाका ५६, एमालेका २१, नेपाली कांग्रेसका १९ र नेकपा माओवादी केन्द्रका ७ जना प्रदेशसभा सदस्य छन् । 

प्रदेशसभाको बैठक शुक्रबार १ वजेपछि बस्ने भएको छ । 

विशेष