पार्टीमाथि सङ्गठित र निकृष्टरुपमा हमला : अध्यक्ष ओली

पार्टीमाथि सङ्गठित र निकृष्टरुपमा हमला : अध्यक्ष ओली

काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने र पार्टीलाई अनुचितरुपमा कब्जा गर्ने प्रयासलाई विफल तुल्याएर जनताका समृद्धिका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन । कामपा–१४, मदननगर, बल्खुमा निर्माण हुने एमालेको केन्द्रीय कार्यालय भवनको आज शिलान्यास गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई सफलतातर्फ उन्मुख गराउँदै अघि बढ्नका लागि पार्टीमा रहेका अनुशासनहीन र अराजक पक्षलाई सम्झाउने–बुझाउने र सच्याएर मूलधारमा कायम राख्ने कोशिश भइरहेको स्पष्ट गरे । 
पार्टीभित्रको विवादबारे अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको थियो । “केही व्यक्तिको चरम महत्वाकाङ्क्क्षा, अरुले हासिल गरेको सफलताबारे सुन्न नचाहने सङ्कीर्ण आत्मकेन्द्रित स्वार्थका कारण हाम्रो पार्टीमाथि सङ्गठित र निकृष्टरुपमा हमला गरियो । मलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको घोषणा गरे”, नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसमा अवसरमा अध्यक्ष ओलीले भने, “पार्टीलाई अनुचित हिसाबले कब्जा गर्ने क्रियाकलाप र ‘फ्लोर क्रस’जस्ता अराजक दृष्य यसअघि कहिल्यै देखिएको थिएन । पार्टीमा अब यस्तो चल्दैन । हामी सुदृढ र गतिशील सङ्गठन निर्माणको प्रक्रियामा अघि बढेका छौँ ।”
अध्यक्ष ओलीले कुनै गुटगत तवरमा पार्टीभित्र अनुशासनहीन र अराजक पक्षसँग पार्टीले सम्झौता नगर्ने स्पष्ट गर्दै गल्ती महसुस गरी अनुशासित भएर काम गर्न सबैलाई अवसर भएकाले सम्झाउने र सच्याउने कोशिशलाई कमजोरी नठान्न आग्रह गरे । उनले न्याय, समता र समृद्धिको परिकल्पनासहित कम्युनिष्ट आन्दोलनका अगुवाले असाधारण दूरदर्शितासहित पार्टी स्थापना गरेकाले उक्त लक्ष्य आफूहरुले पूरा गर्नुपर्ने बताए ।
विसं २०७२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त एमालेको केन्द्रीय कार्यालय पुनः निर्माण हुृन लागेको हो । सो स्थानमा एमालेका १३ रोपनी जग्गा छ । पुनः निर्माणको लागत र अवधि सार्वजनिक गरिएको छैन । भूकम्पपछि एमालेको केन्द्रीय कार्यालय धूम्रबाराहीमा रहेकामा आजदेखि थापाथलीमा शुभारम्भ भएको छ ।कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, प्रवक्ता प्रदीपकुमार ज्ञवालीलगायत नेता सहभागी हुनुभएको थियो ।
यस्तो बन्ने छन पार्टी कार्यालय
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पार्टी कार्यालय शिलान्यास गरिएको छ । यसअघि एमाले मुख्यालय रहेको बल्खुमा नयाँ र अत्याधुनिक भवन निर्माण गर्न लागिएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालयको शिलन्यास गरे ।०७२ सालको भूकम्पले पार्टी कार्यालय भत्काएपछि एमालेले नयाँ भवन बनाउन लागेको हो । बल्खुको भवन भत्किएपछि एमाले पार्टी कार्यालय धुम्बाराही भाडाको घरमा सरेको थियो । त्यहाँबाट पनि तत्कालका लागि पार्टी कार्यालय थापाथलीमा सार्न लागिएको छ ।
 

नेकपा (एमाले) केपी शर्मा ओली

संम्बधित खबर

विशेष