News राजनीति

एमाले सांसदले स्पष्टीकरण पनि एक अर्काको सारेर वुझाए !

एमाले सांसदले स्पष्टीकरण पनि एक अर्काको सारेर वुझाए !

प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टिकरण सोधिएका एमालेका २७ सांसद मध्ये धेरैजनाले एकैठाउँमा बसेर स्पष्टीकरण लेखेको देखिएको जानकारी दिएका छन् ।

शुक्रवार आयोजित महाधिवेशन आयोजक कमिटीको बैठकमा उनले यस्तो जानकारी गराएका हुन् । स्पष्टिकरणको भाषा, प्रस्तुती र शैलीका आधारमा उनीहरुको एकै ठाउँमा वसेर स्पष्टिकरण लेखेको पाईएको उनले वताए ।

ओलीले पाँच सांसदले अझै स्पष्टिकरण नदिएको वताए । उनका अनुसार योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणी चौधरी, निरा जैरु र दीपकप्रकाश भट्टले स्पष्टीकरण दिएका छैनन् ।

सांसद गणेश पहाडी र हिरा केसीले भने मुलधारमै रहने प्रतिवद्धता व्यक्त गरेको ओलीले जानकारी दिए।

यसैगरी, कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रदेश सांसदहरूले आफ्नै ढंगले स्पष्टीकरण दिएको ओलीले जनाएका छन् । प्रकाश ज्वाला र अन्य ४ जना प्रदेश कमिटीमा छन्। देवी ओलीले भूलवश फ्लोर क्रस गरेपछि सच्याए अब पार्टीको निर्णय मान्छु भन्दै स्पष्टिकरण लेखेको उनले वताए ।

बैठकले देवी ओलीको बारेमा थप स्पष्टीकरण सोध्ने र बाँकी सबैलाई पार्टी सदस्य र सांसद पद नरहने गरि कारबाही गर्ने निर्णय गरेको छ । बैठकले निर्णय कार्यान्वयनका लागि कर्णाली प्रदेश सभामा पत्र लेख्ने पनि बैठकले निर्णय गरेको छ। 

स्पष्टीकरण आग्रहपूर्ण दृष्टिकोण राख्ने र विगतमा गुटगत गतिविधि गरेको भए पनि सच्चिएर आउँदा स्पेस दिने तर निहुँ खोजेर उद्दण्डता देखाउने र एमाले समाप्त गर्न लाग्छु भन्नेलाई कारवाही गरिने ओलीले चेतावनी दिएका छन् ।

विशेष