भारतमा कोरोनाको कहरः एकैदिन २६ सय २१ जनाको मृत्यु, बिरामीको उपचारमा समस्या

कोरोना महामारीका कारण विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा कोरोनाको दोस्रो लहरले अवस्था भयावह बन्दै गएको छ । भारतमा देखिएको कोरोनाको डबल म्युटेन्टका कारण सङ्क्रमण दर मृत्यु हुने दर दुबै बढ्दै गएको छ ।
राजधानी दिल्लीसहित अन्य राज्यहरुमा कोरोना सङ्क्रमित बिरामीको उपचारमा समस्या हुन थालेको छ भने विभिन्न राज्यमा कडाईं गरिएको छ । पछिल्लो समय भारतको उत्तर प्रदेश, झारखण्ड, राजस्थान, बिहार, बंगालसहितका राज्यमा कोरोना सङ्क्रमणको दर तीव्र गतिमा बढ्दै गएपछि कर्फ्यूदेखि लकडाउनसम्मको घोषणा गरिएको छ । राजधानी दिल्लीमै सङ्क्रमित बिरामीले अस्पतालमा बेड पाउन नसकेर खुला आकासमुनि उपचार गराउँदैछन् भने अक्सिजनको अभाव देशैभरि देखिएको छ ।
दिल्ली सरकारदेखि अन्य राज्यले केन्द्र सरकारसँग अक्सिजन आपूर्तिका लागि सहयोग माग गरेको छ । कोरोनाको दोस्रो लहरले भारतलाई बढी प्रभावित बनाएसँगै बिरामीलाई औषधि, अक्सिजन र बेड अभाव हुँदा ज्यानको जोखिम पनि बढेको राज्य सरकारहरुले बताएका छन् । पछिल्लो समय भारतमा कोरोनाका कारण दैनिक सङ्क्रमित थपिने दर ३ लाख नाघेको छ । गत २४ घन्टामा मात्रै भारतमा थप ३ लाख ४५ हजार १ सय ४७ नयाँ सङ्क्रमित थपिएका छन् भने २ हजार ६ सय २१ जनाको मृत्यु भएको छ । राजधानी दिल्लीमा मात्रै २४ हजार ३ सय ३१ नयाँ सङ्क्रमित थपिएका छन् भने ३ सय ४८ जनाको मृत्यु भएको छ ।