News

धरहराको पुनर्निर्माण पूरा भएपछि आज उद्घाटन गरिँदै 

धरहराको पुनर्निर्माण पूरा भएपछि आज उद्घाटन गरिँदै 

काठमाडौ
२०७२ सालको भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण सकिएपछि आज उद्घाटन गरिँदैछ । काठमाडौँको सुन्धारास्थित धरहरा परिसरमा हुने विशेष कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे नवनिर्मित २२ तले धरहराको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भूकम्पले भत्किएको मुल धरहरा निर्माणको काम सकिएपछि उद्घाटन गर्न लागिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

भूकम्पका कारण भत्किएको ९ तले धरहराकै स्वरुपमा अहिले २२ तलाको धरहरा बनाइएको हो । आज उद्घाटन भए पनि धरहरा सर्वसाधारणका लागि भने खुला हुन अझै केही महिना लाग्ने प्राधिकरणले जनाएको   छ । जमिनमुनी २ तला र एक तला बराबरको सिँढीलाई जोड्दा धरहरा २५ तलाको भन्न मिल्ने प्राधिकरणका सचिव मणीराम गेलालले बताए । धरहराको पूरा क्षेत्र ४२ रोपनीमा फैलिएको छ । धरहरा बाहेकका अन्य संरचना विस्तारै निर्माण हुँदै जाने पनि उनले बताए । धरहरा वरपर पानीको फोहोरा सहितको बगैँचा, संग्रहालय, पार्किङ्ग, उपहार पसलहरु, सिनेमाघर सहितका पूर्वाधार बन्ने गेलालको भनाइ छ । नयाँ धरहरामा दुईवटा लिफ्टसमेत बनाइएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पमा धरहरा भत्किँदा ६० जनाको मृत्यु भएको थियो । 
 

धरहरा पुनर्निर्माण उद्घाटन

विशेष