प्रदेश नम्बर २ मा बढदो कोरोना संक्रमण, प्लान्ट नहुँदा अक्सिजन बाहिरबाट किन्ने बाध्यता

प्रदेश नम्बर २ मा बढदो कोरोना संक्रमण, प्लान्ट नहुँदा अक्सिजन बाहिरबाट किन्ने बाध्यता

वीरेन्द्र रमण
जनकपुरधाम

कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र गतिमा फैलिरहेको छ । नयाँ भेरियन्टको फैलावटसँगै अहिले देशभर कोरोना संक्रमणको ग्राफ उकालो लाग्ने क्रम दैनिकजसो बढ्दो छ । खुला सिमाको कारणले सहज रुपमा भईरहेको आवतजावतको कारणले प्रदेश नम्बर २मा केही दिन देखि कोरोनाको उच्च संक्रमण देखिएको छ । 
गत चैत महिलाको दोस्रो सातासम्म दैनिक रुपमा प्रदेश नम्बर २मा आकलझुकल रुपमा नै देखिने गरिएको कोरोना संक्रमण अहिल आएर एक्कासी वृद्धि भएको छ ।  भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिन थालेपछि त्यसको असर नेपालमा पनि देखा पर्न थाल्यो । प्रदेश नम्बर २ मा केही साता देखि कोरोना उच्च देखिएको छ । वैशाख १२ गते महिला २३ जना र पुुरुष ६९ जना गरि ९२ जना संक्रमित भएका छन । त्यसैगरि वैशाख ११ गते महिला ४१ पुरुष ९० जना गरि १३१ जना,वैशाख १० गते महिला ४२ पुरुष ८७ जना गरि १२९जना ,वैशााख ९ गते ३५ महिला ,९८ पुरुष गरि १३३ जना,वैशाख ८ गते ३६ महिला ,५४ पुरुष ९० जना संक्रमित भएका छन । केही दिन यता आएर प्रदेश नम्बर २ मा उच्च जोखिममा रहेको छ । त्यस अनुसारले प्रदेशमा भने तयारी देखिएको छैन । 
यता नारायणी अस्पतालमा अक्सिजन प्लान्ट नभएकाले अहिले अर्कै जिल्लाबाट किन्नुपर्ने बाध्यता रहेको छ । दोश्रो चरणको कोरोनाको प्रकोप यहाँ ह्वात्तै बढेपछि अक्सिजन प्लान्ट राख्नुपर्ने आवाज उठिरहेको छ ।
नारायणी अस्पतालमा अक्सिजनका १०० सिलिन्डर मौज्दात अवस्थामा रहे पनि कुनैपनि बेला अभाव हुनसक्ने भएकाले यहाँ अक्सिजन प्लान्ट अति आवश्यक रहेको अस्पताल विकास समितिका सदस्य सुरेन्द्र गुप्ताले बताए ।
पर्सा क्षेत्र नम्बर–२ का सांसद बिमल श्रीवास्तावले आफ्नो संसदीय विकास कोषबाट अक्सिजन प्लान्ट राख्न रु दुई करोड वीरगञ्ज महानगरपालिकालाई दिए पनि हालसम्म सो प्लान्ट स्थापना हुन नसकेकाले जुनसुकै बेला समस्या आउनसक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार ठाकुरले बताए ।
मुख्य अक्सिजन सप्लायर्स भाजुरत्नले सप्लाई दिन नसकेको खण्डमा समस्या आउने जनाउँदै मेसु ठाकुरले अस्पतालले आफ्नो खर्च अक्सिजन प्लान्ट राख्ने सोच बनाएको बताए । सप्लार्यसले प्रत्येक दुई घण्टामा मागअनुसारको अक्सिजन सिलिन्डर पठाउने गरेकाले हाल सोको अभाव देखिएको छैन । कोरोना सङ्क्रमित बिरामीलाई होम आइसोलेसनमा जान भने पनि उनीहरु घर जान नमान्दा त्यस्ता बिरामीलाई पनि अक्सिजन दिनुपर्ने भएकाले अक्सिजनको बढी दुरुपयोग हुने गरेको बताइएको छ ।
अस्पतालको प्रयोशालामा शुक्रबार गरिएको परीक्षणमा ८६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । एक सय ३९ जनाको पिसिआर परीक्षण गर्दा ६३ पुरुष र २३ महिला गरी ८६ जनामा सङ्क्रमण देखिएको अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिए । हालसम्म सो अस्पतालमा उपचारका क्रममा चैत यता आठ जनाको मृत्यु भइसकेको डा दासले बताए । 
निजि अस्पतालमा सङ्घीय सरकारले कोरोना सङ्क्रमितको उपचारका लागि थप्ने भनेर रकम पठाइए पनि केही अस्पतालले श्यया नथपेकाले नारायणी अस्पतालमा यस्ता बिरामीको चाप बढ्दै गएको छ । अहिले नारयणी अस्पतालमा बिरामीको उपचार गर्न ४० श्यया छुट्टाइएको छ । चालीसमध्ये ३१ श्ययामा कोरोना सङ्क्रमित बिरामी उपचाररत रहेको अस्पतालका मेसु डा ठाकुरले जानकारी दिए ।  आइसीयू, भेन्टिलेटको प्रदेशमा आभाव
प्रदेश २ मा दिनदिनै कोरोना संक्रमितहरुको संख्या बढिरहेपनि संक्रमितको उपचार गर्न अति आवश्यक मानिएको आइसीयू, भेन्टिलेटर लगायतका अत्यावश्यक उपकरणका साथै दक्ष जनशक्तिको प्रदेश २ मा अभाव रहेको चिकित्सकहरुको भनाइ छ । यद्यपि प्रदेश सरकारले कोरोना महामारीको पहिलो लहर देखिदा प्रत्येक जिल्लामा भेन्टिलेटर तथा आइसीयुको व्यवस्था गरिएको थियो । 
प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुख नवल झाका अनुसार प्रदेश २मा जम्मा ४५ वटा भेन्टिलेटर उपलब्ध रहेको छ । उनका अनुसार प्रदेश २ अन्तर्गत वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १०, विरगंजकै नेशनल मेडिकल कलेजमा १०, जनकपुरधामको प्रादेशिक अस्पतालमा ७ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको छ । 
त्यस्तै महोत्तरीको जलेश्वरमा ५, सप्तरीको राजविराजमा ४, बाराको कलैयामा २, रौतहटको गौरमा ४, सिरहामा २ र लहानमा १ वटा भेन्टिलेटर रहेको छ । तर प्रदेश २को सर्लाहीमा भने एउटा पनि भेन्टिलेटर उपलब्ध नरहेको स्वास्थ्य महाशाखाले जनाएको छ । 
प्रदेश २ भरीमा कुल ४५ वटा भेन्टिलेटर रहेपनि भेन्टिलेटर चलाउने जनशक्तिको अभाव रहेको स्वास्थ्य महाशाखा प्रमुख झाले बताए । उनले विरगंजको नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजमा मात्रै दक्ष जनशिक्त रहेको र जनकपुरधामको प्रादेशिक अस्पतालमा जसोतसो भेन्टिलेटर चलिरहेको बताए ।  
प्रदेश २मा कोरोना संक्रमण बढिरहेको समयमा ७१ बेडको आइसीयुको व्यवस्था गरिएको स्वास्थ्य महाशाखा प्रमुख झाले जानकारीइ दिए । उनका अनुसार वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा १५, विरगंजकै नेशनल मेडिकल कलेजमा २६, जनकपुरधामको प्रादेशिक अस्पतालमा १०, रौतहटको गौरमा १० वटा आइसीयु बेडको व्यवस्था गरिएको छ  त्यस्तै जलेश्वरमा ५ र सिरहामा ५ बेडको आइसीयुको व्यवस्था गरिएको छ । 
प्रदेश २मा १ सय ८१ बेडको हाइ डिपेन्डेन्सी युनिट (एचडीयु)को व्यवस्था समेत गरिएको स्वास्थ्य महाशाखा प्रमुख झाले बताए । उनका अनुसार विरगंजको नेशनल मेडिकल कलेजमा सबैभन्दा बढी ३१ बेडको एचडीयु रहेको छ । त्यस्तै विरगंजको नारायणी उपक्षेत्रीय अस्पताल, जनकपुरधामको प्रादेशिक अस्पताल र राजविराजमा २५÷२५ बेडको एचडीयुको व्यवस्था गरिएको हो । त्यस्तै बाँकी जिल्लाहरुमा १५÷१५ बेडको एचडीयुको व्यवस्था गरिएको स्वास्थ्य महाशाखा प्रमुख झाले जानकारी दिए । 
उनले भेन्टिलेटर, आइसीयु तथा एचडीयुको व्यवस्था रहेपनि जनशिक्त अभावमा संचालन गर्न कठिनाई भईरहेको बताए । स्वास्थ्य महाशाखा प्रमुख नवल झाले जनशक्ति आपूर्तीका लागि आठवटै जिल्लाका अस्सपतालहरुलाई रिक्त दरबन्दी कति रहेको विषयमा पत्र लेखि सकिएको बताए । उनले प्रदेश सरकार करारमा पनि कर्मचारी भर्ना गरेर जनशक्ति अभाव सम्बन्धि समस्या समाधान गर्न तयार रहेको बताए ।
 

कोरोना संक्रमण लहर नेपाल नयाँ भेरियन्ट

संम्बधित खबर

विशेष