News राजनीति

बेहुलालाई नै बिहा गर्न मन छैन भने जन्तीले मात्र हतार गरेर हुन्छ ?: उपेन्द्र यादव

बेहुलालाई नै बिहा गर्न मन छैन भने जन्तीले मात्र हतार गरेर हुन्छ ?: उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र माओवादी केन्द्र तयार नहुँदा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन नसकेको दाबी गरेका छन्। अविश्वास ल्याउन काँग्रेस तयार भए जसपाको साथ रहने पनि उनले प्रष्ट पारे।

सरकार गठनमा जसपा निर्णयक अवस्थामा नभएकाले काँग्रेस र माओवादीले नै पहल गर्नुपर्ने यादवको भनाइ छ । यादवले भने–‘हामी अहिले सरकार गठनमा लागेका छैनौँ । हामीले सरकार बनाएर बन्ने पनि होइन । त्यसैले ठूला पार्टीहरु पहिले तयार हुनुपर्यो ।’

नयाँ सरकार गठनबारे जसपा लामो समयदेखि आन्तरिक विवादमा छ । अध्यक्ष यादव कांग्रेस–माओवादीसँग मिली वैकल्पिक सरकार गठन गरेर जानुपर्ने पक्षमा छन् । अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष भने वर्तमान सरकारको निरन्तरताको पक्षमा देखिएको छ । दुईपक्षीय विवादका कारण जसपा अनिर्णित भएको बताइएका बेला आज शीर्ष नेताहरु छलफलमा जुटेका थिए ।

शीर्ष नेताहरुको बैठकबारे सोधिएको प्रश्नमा यादवले सरकार गठनबारे कुनै निर्णय नभएको बताए। उनले पछिल्लो राजनीतिक परिस्थितिको मूल्यांकन गरिएको पनि बताए।

‘मैले सधैँ भन्दै आएको छु बेहुला अघि बढ्यो भने न जन्ती पछि लाग्छ ! बेहुलालाई नै बिहा गर्न मन छैन भने जन्तीले मात्र हतार गरेर हुन्छ ?’ प्रश्न गर्दै उनले भने–‘बेहुला हुन तयार हुनुस्, जन्ती जाने मान्छे जत्ति पनि पाइन्छ ।’ तपाईंहरुले निर्णय नगर्दा काँग्रेस अलमलमा परेको भन्ने छ नि भन्ने प्रश्नमा यादवले काँग्रेसले आँट गरे जसपाले साथ दिने बताए । उनले प्रष्ट पार्दै भने–‘काँग्रेस अघि बढोस हामी समर्थन गर्छौं । हामीलाई आशंका गर्नु पर्दैन । तपाईंहरु अघि बढ्नुस् हामी जन्ती जान तयार छौँ ।’

अध्यक्ष यादवले आगामी केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबारे निर्णय गर्ने संकेत दिए। उनले भने–‘अहिले तत्काल कार्यकारिणी समितिको बैठक बस्दैन,केही समयपछि बोलाउने सल्लाह भएको छ ।’ जसपाको कार्यकारिणी समितिमा यादव पक्ष बहुमतमा रहेको छ । त्यसैले शीर्ष नेताले निर्णय गर्न नसके कार्यकारिणी समितिबाट बहुमतले निर्णय गर्ने अध्यक्ष यादवको तयारी रहेको पनि बताइन्छ ।

आजको बैठकमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद सदस्य डा। बाबुराम भट्टराई,बरिष्ठ नेताहरु राजेन्द्र महतो,अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी भएको उनले जानकारी दिए।

यता, जसपाले निर्णय गरे आजै अविश्वासको प्रस्ताव ल्याउन काँग्रेस र माओवादी केन्द्र तयार रहेको माओवादीका एक नेताले बताए । ‘जसपाको निर्णय कुरेर बसेका हौँ । उहाँहरुले निर्णय गर्नुभयो भने आजै पनि अविश्वास प्रस्ताव आउनसक्छ ।’

कांग्रेस र माओवादीले संयुक्त रुपमा सांसदहरुको हस्ताक्षर संकलन गरिसकेको पनि बताइएको छ ।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो।

विशेष