News

सरकारलाई संसदीय समितिको निर्देशन– व्यवस्थित लकडाउन गर

सरकारलाई संसदीय समितिको निर्देशन– व्यवस्थित लकडाउन गर

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई कोरोना नियन्त्रण सम्वन्धमा २१ बुँदे निर्देशन तथा सुझाव दिएको छ । कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिइरहेको भन्दै संसदीय समितिले कोरोना संक्रमण एक व्यक्तिबाट अर्कोमा सर्ने क्रम (चेन) तोड्नका लागि व्यवस्थित लकडाउन गर्न सुझाव दिएको हो । 

समितिको मंगलबारको बैठकले ‘कोरोना संक्रमणलाई रोक्न चेन ब्रेक आवश्यक भएकोले व्यवस्थित लकडाउन गर्नुपर्ने’ सुझाव दिएको छ।

सरकारले पहाडी क्षेत्रका जिल्लामा २०० भन्दा बढी र सहरी क्षेत्रका जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेमा निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिएको थियो । संसदीय समितिले भने व्यवस्थित रूपमा लकडाउन गर्नका लागि सुझाव दिएको छ ।

लकडाउनका क्रममा कोरोना संक्रमित र अन्य रोगका बिरामीलाई स्वास्थ्य परामर्श दिन टेलिमेडिसिनको व्यवस्था गर्न पनि सुझाव दिएको छ ।

वैठका सांसदहरूले संघीय सरकारका मन्त्रालयहरूबीच आवश्यक समन्वय नभएकाले प्रभावकारी रूपमा काम हुन नसकेको वताएका थिए । 

कोरोना संक्रमितको उपचार गर्ने अस्पतालहरूमा आवश्यक जनशक्तिको व्यवस्था गर्न, राहत र स्वास्थ्य सामग्रीको वितरण आवश्यकताका आधारमा गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

सभापति जयपुरी घर्तीले समितिले सीमा क्षेत्रमा हेल्थ डेस्क र सूचना डेस्कको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको बताइन् । 

​​​​​

विशेष