News स्वास्थ्य

कोरोना संक्रमणः दुई सातामा सात गुणाले वृद्धि, १३३ जनाले ज्यान गुमाए

कोरोना संक्रमणः दुई सातामा सात गुणाले वृद्धि, १३३ जनाले ज्यान गुमाए

दुई सातामा कोरोना सङ्क्रमितको संख्या सात गुना बढीले वृद्धि भएको छ । वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको संख्या ६०३ पुगेको थियो । उक्त संख्या दुई सातापछि आज बढेर चार हजार ५२४ पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या तीन लाख सात हजार ९२५ पुगेको छ । 

दुई साताअघि चार हजार २८९ जनाको पिसिआर परीक्षण तथा ४५१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १४ हजार ६७२ जनाको पिसिआर परीक्षण तथा एक हजार नौ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । दुई साताअघिसम्म पिसिआर परीक्षण गराउनेको संख्या २२ लाख ३६ हजार ५२६ पुगेको थियो । हाल उक्त संख्या २४ लाख ३२ हजार ८९ पुगेको छ । हाल ५८ जना क्वारेन्टिनमा रहेका छन् । 

हालसम्म दुई लाख ७८ हजार ५०६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५५५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । दुई साताअघि देशभर चार हजार ५६ सक्रिय सङ्क्रमित रहेकामा हाल उक्त संख्या बढेर २६ हजार २२५ पुगेको मन्त्रालयले जनाएको छ ।     

काठमाडौँ उपत्यकामा पनि सङ्क्रमित सात गुनाले वृद्धि
दुई सातामा काठमाडौँ उपत्यकामा पनि कोरोना सङ्क्रमितको संख्या सात गुना बढीले वृद्धि भएको छ । दुई साताअघि सङ्क्रमिको  संख्या काठमाडौँ उपत्यकामा २५४ रहेको थियो । पछिल्लो २४ घण्टामा उपत्यकामा सङ्क्रमितको संख्या बढेर एक हजार ९६६ पुगेको छ । दुई साताअघि सङ्क्रमितको संख्या काठमाडौँमा १७३, ललितपुरमा ६१ तथा भक्तपुरमा २० रहेको थियो । हाल काठमाडौँमा एक हजार ६०२, ललितपुरमा २४० तथा भक्तपुरमा १२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

दुई सातामा १३३ जनाले कोरोनाबाट ज्यान गुमाए
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट दुई साताअघि तीन सङ्क्रमितको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ । वैशाख १ गते कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ६१ जनाको मृत्यु भएको थियो भने आज उक्त संख्या बढेर तीन हजार १९४ पुगेको मन्त्रालयले जनाएको छ । दुई सातामा कोरोनाबाट १३३ जनाले ज्यान गुमाएका छन् । 
 

विशेष