पूर्वी तथा तराई र पहाडी इलाकामा आंशिक बदलीको सम्भावना

काठमाडौ
पूर्व तथा तराईको क्षेत्र र पहाडी इलाकामा आंशिक बदली रही अरु क्षेत्रको मौसम आज सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भू–भागमा अहिले न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ । अहिले प्रदेश १ तथा प्रदेश २ का केही भू–भाग लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा आंशिक बदली भएको छ । अरु क्षेत्रको मौसम सफा रहेको छ । आज दिउँसो प्रदेश १, प्रदेश २ लगायत देशका अन्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम भने सफा रहने पूर्वानुमान गरिएको छ । पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ । देशभर अधिकतम र न्यूनतम तापक्रममा वृद्धि भइरहेकोले गर्मी बढ्ने हुँदा सम्भावित असरबाट बच्न तथा पहाडी भू–भागका थोरै स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ ।