News अपराध सुरक्षा समाज

भ्यू टावरका ठेकेदारले प्रहरी/प्रसासन किनेको आरोप

भ्यू टावरका ठेकेदारले प्रहरी/प्रसासन किनेको आरोप

काठमाण्डौं भ्यू टावर निर्माणको ठेक्का पाएका मनोज भेटवालले रिपोर्टिङ्गका क्रममा पत्रकार माथि गरेको दुब्र्यवहार र आक्रमणका विषयमा कारवाही गर्न प्रहरीले वेवास्ता गरेको छ । उजुरी लिने तर दर्ता नगर्ने शैलीले प्रहरीमाथि ठेकेदारको प्रभावमा परेको आरोप समेत लागेको छ।

भेटवाल विरुद्ध पीडित पत्रकारका तर्फवाट १५ दिनअघि दिइएको उजुरी दर्ता समेत गरिएको छैन।  भेटवालसहित ठेकेदारको टोलीले गत २०७७ चैत्र ३० गते नेपाल आज डटकमका सञ्चालक तथा पत्रकार माधव गुरागाई माथि भौतिक आक्रमण गर्नुका साथै करिव १ लाख रुपैयाँ वरावरको संचार सामग्री तोडफोड गरेको थियो ।


सो सम्वन्धमा पत्रकार गुरागाईले सोहि दिन प्रहरी कार्यालयमा जानकारी तथा उजुरी दिएका थिए। सार्वजनिक प्रयोजनको लागि निर्माण हुन लागेको टावरको प्रगति विवरण, पेटी ठेकेदार भारतीय नागरिक भ्यालुरुपाली हेमचन्द्रका सामानहरु अरु ठेकेदारहरुलाई प्रयोग गर्न दिएको, हेमचन्दलाई काममा नलगाएको र भुक्तानी पनि नदिएको सम्बन्धमा रिर्पोटिङ्ग गर्न जाँदा आफु माथि आक्रमण भएको र भिडियो खिचिरहेको सञ्चार सामग्रीसमेत खोसेर तोडफोड गरेको उजुरीमा उल्लेख छ।

घटनामा संलग्न सवैलाई कारवाही गर्न र तोडफोड भएको सञ्चार सामग्रीको क्षतीपुर्ति उपलब्ध गराउन माग गरेपनि प्रहरीले कुनै वास्ता नगरेको उनले जनाएका छन् ।

गुरागाईले घट्नास्थवाटै अनामनगर प्रहरीलाई फोन गरेर घटनाको जानकारी गराए। प्रहरी घटनास्थल पुगेर यथार्थ जानकारी लिने काम पनि गरेको थियो । अनामनगर प्रहरीले घट्नालाई प्रहरी परिसर टेकुमा पठाएपछि गुरागाईले उजुरी समेत दिएका थिए । सोहि क्रममा परिसरले अनामनगर प्रहरीका डिएसपी हरीवहादुर वस्नेतसँग रिपोर्टिङ्ग माग गरेको थियो ।

वस्नेतको रिपोर्टिङ्गपछि परिसरको मुद्दा फाँटका डिएसपी नरेन्द्र चन्दले पत्रकार गुरागाईको उजुरी दर्ता नगरी आफै राखेको पाईएको छ । 

सोहि क्रममा प्रहरी परिसर, टेकुका एक जना डिएसपीले पीडित पत्रकार गुरागाईलाई दुब्र्यवहार समेत गरेका थिए । पत्रकारहरुले फोटो÷भिडियो खिच्नुभन्दा अगाडि जानकारी गराएर जानु पर्ने र प्रहरीलाई पनि खवर गर्नु पर्ने भन्दै ‘तपाईहरु छापा मार्ने शैलीमा त्यहाँ जानु भएको रहेछ। पत्रकारले फोटो÷भिडियो खिच्नु भन्दा अगाडि अनुमति लिनु पर्छ। त्यसरी दलाली गर्न जानु भएको हो’ भन्दै थर्काएको समेत पाईएको छ ।

घट्नाका सम्वन्धमा वुझन खोज्दा एसएसपी सिंहले उजुरी प्रहरीले जिम्मा लिएको र केहि समयपछि दुवै पक्षलाई वोलाएर थप प्रकृया अगाडि वढाउने वताए। सिंहले ठेकेदारकै पक्ष लिएर घट्नामा संचारकर्मीको कमजोरी औल्याउने प्रयत्न गरे । 

समस्या लिएर आएका पत्रकारलाई प्रहरीले उल्टै अभद्र ब्यवहार गरेको विषयमा भने उनले जवाफ दिन चाहेनन्। सो विषयमा जिज्ञासा राख्नासाथ उनले ‘जसले भनेको हो, उसैसँग सोध्नु’ भन्दै फोन काटे।

एसएसपी सिंहको यो ब्यवहारले प्रहरीमाथि भारतीय पेटी ठेकेदार भ्यालुरुपाली हेमचन्द्रले लगाएको आरोपलाई थप पुष्टि गरेको छ। हेमचन्द्रका अनुसार भेटवालले ‘प्रहरी प्रशासन मेरो गोजिमा छ’ भन्दै धम्की दिने गरेका छन् । हेमचन्द्र भ्यू टावर निर्माणका लागि भारतवाट वोलाईएका पेटी ठेकेदार हुन । उनीसँग करिव ८ करोडको काम गर्ने गरी भेटवालले सम्झौता गरेका छन् । सोहि अनुसार करिव ३ करोडका मेसिन र म्यान पावरसहित हेमचन्द्र काम गर्नका लागि काठमाण्डौ आए । आधाभन्दा वढि काम गरिसकेपछि भेटवालले आफुलाई कामवाट वेदखल गरेको उनले वताए । ‘मेरा मेसिनहरु सवै कब्जा गरेको छ, लोकल कम्पनीलाई मेसिन दिएर काम गराउँदै गरेको सुनेको छु। कागजपत्र सवै उसैसँग छन्, भन्सार वुझाउन पाएको छैन । काम गर्ने सम्झौता पनि तोडिएको छैन’ उनले भने–‘अयोग्य कामदारसँग मापदण्ड विपरित कामहरु भईरहेको छ। भोली दुर्घटना भयो भने सम्झौता अनुसार मलाई नै कारवाही हुन्छ। तर, मैले काम गर्न पाएको छैन।’

भेटवालले आफुले पाउने रकम समेत नदिएको उनले गुनासो गरेका उनले ‘कम्पाउण्ड भित्र छिरिस भने मान्छे लगाएर सिद्याई दिन्छु भन्छ। त्यहाँ भित्र छिर्ने हिम्मत पनि छैन’ भने । उनले थपे– ‘प्रहरीमा गएपनि मेरो कुरा कसैले सुन्दैन। प्रहरी त म खल्तिमा राख्छु भनेर धम्की दिन्छन्। कतैवाट सहारा नपाएपछि म तपाईहरुको साथमा आएको हुँ।’

हेमचन्द्रले आफु समस्यामा परेको भन्दै पटक पटक प्रहरी प्रशासन गुहारेको पाईएको छ। तर, भारतीय भएकै कारण प्रहरीले उनको समस्यालाई वेवास्ता गर्दै आएको पनि पाईएको छ। प्रहरीले गर्ने ब्यवहार, उनीहरुको कुराकानी  र समस्याप्रति गैरजिम्मेवार हुनुले पनि प्रहरी प्रशासन ठेकेदारवाट प्रभावित भएको अनुमान लगाउन सकिन्छ। हेमचन्द्रले आफु भारतीय नागरिक भएकैले काठमाण्डौंमा हेपीएको र शोषणमा परेको भन्दै गुनासो गरेका छन् । ‘अन्तर्राष्ट्रिय कानुन अनुसार आतंककारीले पनि न्याय पाउने ब्यवस्था छ’ उनले गुनासो गर्दै भने–‘त्यसमाथि म त सम्झौता गरेर काम गर्न आएको हुँ। भारतीय भएकै कारण न्याय नपाउने ?’

उनकै गुनासोपछि नेपाल आजको टिम रिपोर्टिङ्गका लागि भ्यू टावर निर्माण स्थल पुगेको थियो । तर, भेटवालले पत्रकारमाथि नै आक्रमण गरेर सामग्री तोडफोड गरेपछि उनीहरु फर्किएका थिए ।

घटनाका विषयमा नेपाल पत्रकार महासंघ, प्रेस युनियन लगायतका संगठनले विज्ञप्ति जारी गरेर ध्यानाकर्षण गराउँदा समेत प्रहरीले उजुरी दर्ता नगर्ने र उल्टै होतोत्साहित पार्न खोज्नुले उनीहरुको नियतमाथि प्रश्न उठ्न थालेको पीडितको भनाई छ । 


यो पनि


प्रहरी र नेता सबैलाइ किनेको दाबी गर्छन भेटवाल !

अनियमितताको रिपोटिङ्ग गर्ने सञ्चारकर्मीमाथि भौतिक आक्रमण, सञ्चार उपकरण तोडफोड

मनोज भेटवाल काठमाण्डौं भ्यू टावर सञ्चारकर्मीलाई भौतिक आक्रमण

विशेष