News राजनीति

नेता पौडेलको चिन्ताः निष्ठा जोगाउन पनि राजमोले सांसद शाहीमाथि कारबाही गर्नुपर्छ

नेता पौडेलको चिन्ताः निष्ठा जोगाउन पनि राजमोले सांसद शाहीमाथि कारबाही गर्नुपर्छ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेले जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाएको आरोप लगाएका छन् ।

बिहीवार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग बोल्दै नेता पौडेलले यसरी सांसद अपहरण गरेर वन्धक वनाउनु राजनीति सिद्धान्त र निष्ठामा रहेको जनमोर्चा जस्तो पार्टीको आदर्शमाथि प्रहार गरेको आरोप लगाए।

खिमविक्रम शाही प्रकरणको स्वतन्त्र छानबिन हुनुपर्ने वताएका उनले भने–‘किर्ते–नक्कली बहाना बनाएर, अघिल्लो दिन कोरोना नेगेटिभ भएको मान्छे भोलिपल्ट कसरी पोजेटिभ हुन्छ ? यसमा षड्यन्त्र छ । मैले भन्ने गरेको छु विभिन्न तरिकाले पैसा कमाउने, पैसाले सत्तामा पुग्ने, सत्ता चलाउने, यो लोकतन्त्रको धज्जी उडाउने काम भयो ।’

खिमविक्रम शाही प्रकरण लोकतान्त्रिक देशका लागि गम्भीर प्रश्न भएको वताउँदै पौडेलले किर्ते जालसाजी खेल, अलोकतान्त्रिक षडयन्त्रको छानबिन हुनुपर्ने माग गरे । गण्डकी प्रदेश सभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकारको शक्ति प्रयोग भएको उनको भनाई छ ।

सांसदको नक्कली पीसीआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारबाही हुनुपर्ने भन्दै घटनाको छानबिन गर्न माग गरे। गण्डकी प्रदेश सभामा अविश्वासको प्रस्तावमा मतदान हुने बेलामा जनमोर्चाका सांसद खिमविक्रम शाही फोन स्विच अफ गरी हराएको उनको भनाई थियो ।

नेता पौडेलले जनमोर्चाले आफ्नो निष्ठालाई जोगाउनका लागि पनि सांसद शाहीमाथि तत्काल कारबाही गर्नुपर्ने बताए। ‘यहाँ त सीडीओ पनि लागेको, माथिल्लो सत्ता पनि लागेको, अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै संसद् नै स्थगित गरेर मुख्यमन्त्री काठमाण्डौ आएको, यो सबै खेल र प्रपञ्चले नक्कली खेल सबैको पर्दाफास भएको छ । नेकपा एमालेको षड्यन्त्र गण्डकीको संसदमा पर्दाफास भएको छ’– उनले भने। 

विशेष