News

भारतीय सहयोगमा पुनर्निमाण हुने काभ्रेका दुई विद्यालयको शिलान्यास

भारतीय सहयोगमा पुनर्निमाण हुने काभ्रेका दुई विद्यालयको शिलान्यास

भारत सरकारको आर्थिक सहयोगमा काभ्रेमा दुई विद्यालयको निर्माण सुरु गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, भारतीय राजदूतावासका राजनीतिक प्रभागकी प्रथम सचिवसौम्या सीलगायतले संयुक्त रुपमा विद्यालयको सिलान्यास गरेका छन् ।

काभ्रेको रोशी गाउँपालिकास्थित हरिसिद्घि माध्यमिक विद्यालय र महाभारत गाउँपालिकास्थित सिद्घेश्वर माध्यमिक विद्यालयको पुनर्निर्माणको काम सुरु भएको हो । 

नेरु. २ करोड ८४ लाखको लागतमा हरिसिद्घि माध्यमिक विद्यालयको निर्माण हुनेछ भने ३ करोड ९६ लाखको लागतमा सिद्घेश्वर माध्यमिक विद्यालयको निर्माण सम्पन्न हुने छ। नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप यी विद्यालय निर्माण हुनेछन् ।

हरिसिद्घि माध्यमिक विद्यालयको तीन तल्ले नयाँ संरचनामा ९ वटा कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय र विद्यार्थीहरुका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा हुनेछ । त्यस्तै, सिद्घेश्वर माध्यमिक विद्यालयको तीन तल्ले नयाँ संरचनामा १३ वटा कक्षा कोठा, लेखा, प्रधानाध्यापक र अध्यापकका लागि कक्ष, परीक्षा कक्ष, प्रारम्भिक बालविकास कक्ष, प्रशासनिक कक्ष, विद्यालय व्यवस्थापन समिति कक्ष र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा हुनेछ ।

यी विद्यालयहरुको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतको शीर्ष संस्थानको रुपमा परिचित छ । 

०७२ सालको भूकम्पले क्षति पुर्याएका नेपालका आठ जिल्लाका कूल ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर (करिब नेरु. ५.८ अर्ब) आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । यि दुई विद्यालयको सिलान्तयाससँगै ७० वटा विद्यालयको पुनर्निर्माण सुरु भएको छ । जसमध्ये ८ वटा विद्यालयहरु सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकिएको छ । 

स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले थप २०० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता पनि गरिसकेको छ । ५० हजार घरहरुमध्ये अहिलेसम्म गोरखा र नुवाकोट जिल्लामा ४७ हजार घरहरु निर्माण भइसकेका छन् र बाँकी घरको निर्माण कार्य अघि बढिरहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सम्बन्धित नगरपालिकाका अधिकारीहरुले लाभग्राहीहरुलाई वर्षायाम आउनु अघि नै निर्माण कार्य सम्पन्न गरिसक्न आग्रह गरेका छन् । 

भारतको आर्थिक सहयोगमा ०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा सबलीकरण र १४७ वटा स्वास्थ्य भवनको निर्माण भइरहेको छ । 

भारतीय सहयोग पुनर्निमाण

विशेष