News प्रदेश ५

रोल्पामा संक्रमणको वृद्धि दर एकदमै उच्च, ४३ जनाको जाँच गर्दा ४२ मा कोरोना

रोल्पामा संक्रमणको वृद्धि दर एकदमै उच्च, ४३ जनाको जाँच गर्दा ४२ मा कोरोना

रोल्पामा कोरोना संक्रमणको वृद्धि दर एकदमै उच्च देखिएको छ। जिल्लाको गंगादेव गाउँपालिकाका ४३ जनाको पीसीआर जाँच गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि वृद्धि  दर उच्च रहेको देखिएको हो ।

एकैपटक गरिएको परीक्षणमा यति धेरै संख्यामा कोरोना देखिएको जिल्लामा यो पहिलो हो । पोजिटिभ हुनेहरुमा गाउँपालिकाका कर्मचारी, केही जनप्रतिनिधि र पालिका अवस्थित स्थानीय छन् । गंगादेव गाउँपालिकाका अध्यक्ष बीरबहादुर खत्रीका अनुसार सुरुमा लेखा अधिकृत र एक स्थानीय टेलरलाई कोरोना देखिएको थियो ।

कन्ट्याक्टमा रहेका पालिका जनप्रतिनिधि, कर्मचारी र स्थानीय गरी ४३ जनाको स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षणबाट सबैजसोलाई पोजेटिभ देखिएपछि गाउँमा त्रास फैलिएको छ । 

गाउँपालिका उपाध्यक्ष, ३ नं. वडाअध्यक्ष, विभिन्न विषयगत शाखाका कर्मचारी र स्थानीयको स्वाब परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । पालिकामा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाको कार्यालय र २ नं. वडा कार्यालय वैशाख १२ गतेदेखि नै सिल गरिएको थियो । 

कोरोनाको खोप लगाइदिन खटिएका स्वास्थ्यकर्मीमा पनि कोरोना पोजिटिभ देखिएको जनाएको छ । कोरोना पोजेटिभ देखिएका ४३ जनासँग गाउँपालिकाका धेरै सेवाग्राही समेत कन्ट्याक्टमा रहेका छन् । 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) ले संक्रमणबाट जोगाउन सूचना जारी गरेको छ । जिल्ला प्रवेश नाका खुंग्री र होलेरीमा हेल्थ डेस्क खडा गरिएको छ । 

यता, वैदेशिक मुलुक, भारत र सहरी क्षेत्रबाट गाउँ फर्किएका समेत क्वारेन्टाइनमा बसेका छैनन् । कोरोना लक्षण सहितका विरामी स्वास्थ्य संस्थामा पुगेपनि स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको छैन । 

विशेष