News अपराध सुरक्षा

वृद्ध दम्पतीको हत्या प्रकरणः ७ जना कारागार चलान, दुईको खोजी जारी

वृद्ध दम्पतीको हत्या प्रकरणः ७ जना कारागार चलान, दुईको खोजी जारी

महोत्तरीको पिपरा गाउँपालिका–५ स्थित आफनै घरमा सुतिरहेका दम्पतीको हत्या प्रकरणमा पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया पत्नी गीतादेवीलाई गत फागुन १० गते राति ओछ्यानसहित बेपत्ता पारी हत्या गरिएको थियो । सोहि आरोपमा जिल्ला अदालत महोत्तरीले पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

कारागार चलान हुनेमा कैलाश झा, हरेन्द्र ठाकुर, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भनिने राजिन्द्र यादव र विकास भनिने बबलु छन् । 

मृतकका छोरा मनिषको जाहेरीका आधारमा वादी नेपाल सरकार भएको अपहरण, शरीर बन्धक, ज्यान सम्बन्धी कसुर, अपराधिक षड्यन्त्र, लागुऔषध र चोरी मुद्दाका प्रतिवादी सात जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको छ ।

न्यायाधीश डा रमेशप्रसाद रिजालको इजलासले प्रतिवादीहरुलाई थुनामा राखी मुद्दाको कारबाही गर्ने र तारादेवी झालाई २ लाख धरौटीमा तारेखमा राखी मुद्दाको कारबाही गर्ने आदेश गरेको थियो । तारादेवीले धरौटी बुझाउन नसक्दा उनीसहित सातै जनालाई पुर्पक्षका लागि कारागारमा पठाइएको हो ।

घटनामा संलग्न रन्जित मिश्र र तेजनारायण झाका हकमा पक्राउ पूर्जी म्याद जारी गर्न आदेश भएको हो । दम्पत्तिको शव चैत १२ गते प्लाष्टिकका बोरामा राखेर गाडिएका अवस्थामा भेटिएको थियो ।

पिपरा गाउँपालिका–२ स्थित पिपरा–धिरापुर सडकखण्डमा गत वर्ष बाढीले २० फिट गहिरो हुने गरी माटो बगाई बनाएको खाल्डो पुर्ने क्रममा स्काइभेटरको बकेटमा कङ्काल रहेको बोरा भेटिएपछि झा दम्पतीको पत्तो लागेको थियो ।

विशेष