News

निजी अस्पताललाई कोरोना अस्पतालका रुपमा प्रयोग गरिने

विदेशीले क्वारेण्टाइनमा बस्न नमाने डिपोट गर्ने

निजी अस्पताललाई कोरोना अस्पतालका रुपमा प्रयोग गरिने

सरकारले निजी अस्पताललाई कोरोना अस्पतालका रुपमा प्रयोग गर्ने गरी तयारी थालेको छ । 

कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित सीसीएमसी निर्देशक समितिले निजी अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय गरेको हो ।

शुक्रबार सिंहदरबारमा बसेको निर्देशक समिति बैठकले कोरोना संक्रमण उच्च रहेको र निषेधाज्ञा लागू गरिएका जिल्लामा थप कडाई गर्ने र निजी अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।

यसैगरी नेपालको भारततर्फ खुलेका ३५ नाकामध्ये १३ नाका मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । सरकारले क्वारेण्टाइनसहित खुला राखेका नाकाहरू काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् ।

निषेधाज्ञा लागू भएका जिल्लामा एक चौथाइ कर्मचारी राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । 

यस्तै सङ्घीय मन्त्रीलाई प्रदेश समन्वय गर्ने गरी खटाउन मन्त्रिपरिषदमा सिफारिस पनि गरेको छ । यसका साथै बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय पनि गरेको छ । यदि निर्माण कार्य सुरु गर्ने भए कामदार, कर्मचारीलाई निमार्णस्थलमा नै राख्नुपर्ने छ । उद्योगहरू सञ्चालन गर्ने भए मजदुर, कर्मचारीलाई उद्योग परिसरभित्र नै रहने गरी सञ्चालन गर्न निर्देशन पनि दिएको छ ।

विदेशबाट नेपाल आएका विदेशीले क्वारेण्टाइन बस्न अनिवार्य गर्ने र नमाने डिपोट गर्ने पनि निर्णय गरेको छ । क्वारेण्टाईनका रूपमा रहेका होटललाई थप व्यवस्थित गर्ने निर्णय बैठकले गरेको छ । 

विशेष