News राजनीति

धरौटी वुझाउन नसकेर जेल परेका नेता माइला लामा २५ हजार वुझाएर रिहा

धरौटी वुझाउन नसकेर जेल परेका नेता माइला लामा २५ हजार वुझाएर रिहा

संखुवासभा जिल्ला कारागारमा रहेका  चन्द समूहका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा रिहा भएका छन्।सरकार र चन्द समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि उनी बिहीबार रिहा भएका हुन्। 

सरकार र चन्द समूहबीच फागुन २१ गते भएको सहमतिअनुसार गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको थियो।

लामा २५ हजार धरौटी बुझाएर हिरासतमुक्त भएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी डिल्ली प्रसाईँले जानकारी दिए। उनी २०७६ साउन ५ गते काठमाडौंबाट पक्राउ परेका थिए। लामालाई विभिन्न जिल्ला हुँदै संखुवासभा ल्याइएको थियो।

जिल्ला अदालत चैनपुरले संगठित रूपमा हातहतियार ओसारपसार, सञ्चय तथा प्रयोग मुद्दामा २५ हजार रूपैयाँ धरौटी माग गरेको थियो। धरौटी बुझाउन नसकेपछि जिल्ला अदालत चैनपुर २०७६ फागुन ७ गते कारागार चलान गरेको थियो।

चन्द समूहले आफ्ना नेता–कार्यकर्ता रिहा गर्ने सहमति पालना नभएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो। नेता लामालाई परिवारको जिम्मामा छाडिएको छ। नेता लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघको अध्यक्षसमेत थिए। तर, पार्टी विभाजनपछि मोहन वैद्य हुँदै उनी चन्द समूहमा लागेका थिए। 

माओवादी जनयुद्धको क्रममा उनका हातका केही औँलामा क्षति पुगेका छन् भने सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ। उनले सयौँ क्रान्तिकारी गीत गाएका छन्। उनले संगीत दिएका धेरै गीतमध्ये नेत्रविक्रम चन्दको शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित मानिन्छ।
(रासस)

विशेष