News राजनीति

प्रधानमन्त्रीविरुद्ध ल्याईने अविश्वास प्रस्तावको पक्षमा रहने जसपाको निर्णय

प्रधानमन्त्रीविरुद्ध ल्याईने अविश्वास प्रस्तावको पक्षमा रहने जसपाको निर्णय

जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध ल्याईने अविश्वास प्रस्तावको पक्षमा रहने निर्णय गरेको छ । 

वैशाख १४ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा लुम्बिनीका ४ जना जना प्रदेश सांसदलाई कारबाही गर्ने र प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको एक नेताले बताए । दुवै निर्णय वहुमतको आधारमा गरिएको छ ।

केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाउने विषयमा नै विवाद देखिएपछि वहुमत पक्षको वैठक वसेर यस्तो निर्णय गरिएको जनाईएको छ । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यसमिति अध्यक्ष उपेन्द्र यादव पक्षले बैठक बोलाउन माग गरेका थिए। तर, अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले वैठक वोलाउन अस्वीकार गरेका थिए ।

त्यसपछि मंगलबार बसेको पार्टी पदाधिकारी बैठकमा पार्टी अध्यक्ष ठाकुरले तत्कालै कार्यकारिणी बैठक बोलाउन अस्वीकार गरे। त्यसपछि केन्द्रीय कार्यकारिणी समिति बैठक बसेको स्रोतको दाबी छ ।

केन्द्रीय पदाधिकारीमा भट्टराई–यादव पक्षकै बहुमत छ । त्यस्तै जसपामा हाल कायम रहेका ३२ सांसदमध्ये १८ जना सांसदले प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको पनि एक नेताले बताए । जसपामा पूर्वराजपा र पूर्वसमाजवादीका १७÷१७ सांसद थिए । तर दुवै पक्षका एक–एक जना सांसद निलम्बनमा परेका थिए ।

अहिले पूर्वसमाजवादी पार्टी पक्षमा १८ जना सांसद रहेको र कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएमा त्यो संख्या बढ्ने पनि ती नेताले दाबी गरे ।

वैशाख १४ गते बसेको भनिएको केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयमा २६ जनाको हस्ताक्षर रहेको छ । पार्टी एकीकरणका क्रममा तत्कालीन राजपाका २६ र समाजवादीका २५ जना गरी ५१ सदस्यको केन्द्रीय कार्यकारिणी समिति गठन गरिएको थियो ।
अध्यक्ष यादव पक्षले बिहीबार गरेको निर्णयका आधारमा लुम्बिनी प्रदेशसभा सचिवालयले सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई सांसदबाट पदमुक्त गरेपछि जसपामा फेरि एकपटक विवाद चुलिएको छ । अध्यक्ष ठाकुर पक्षले भट्टराई–यादव पक्षले पार्टी विभाजनको बीजारोपण गरेको आरोप लगाएको छ ।

विशेष