काँग्रेसले सत्ता परिवर्तनको अठोट लिएको छ, तर सत्तामा जान खोजेको नवुझौंः नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले सत्ता परिवर्तनको अठोट लिएको तर, यो अठोटलाई सत्तामा जान खोजेको रुपमा भने नलिन आग्रह गरेका छन् ।
शनिबार काठमाण्डौंमा आयोजित नेपाल शिक्षक संघको कार्यक्रममा वोल्दै उनले ७० वर्ष लामो संघर्षपछि प्राप्त भएका उपलब्धिहरुलाई ओली नेतृत्वको सरकारले जोखिमतर्फ धकेलेकाले कांग्रेसले त्यसको विकल्प खोजको वताए ।
मुलुकलाई जोखिमबाट जोगाउन काँग्रेसले सरकार परिवर्तनको अठोट लिएको उनले दावी गरे। ‘हामी यो सरकारको विकल्प चाहन्छौं’ उनले भने–‘७० वर्षदेखि जुन प्रणाली, जुन सभ्यताका लागि हामीले कष्ट उठायौँ, त्यसमाथि प्रहार भएको छ, त्यसलाई जोखिमतर्फ लगिँदैछ । त्यस कारण हामीले सरकार परिवर्तन गर्छौं भनेर अठोट गरेका छौं।’
प्रधानमन्त्री ओलीले सांसदलाई तिरस्कार गरेको भन्दै उनले संसद र संविधानलाई प्रधानमन्त्रीको प्रहारबाट जोगाउन नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले उनलाई हटाउने अठोट लिएका जानकारी दिए ।
काँग्रेस केन्द्रीय कार्यसमितिको शुक्रवारको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र वैकल्पिक सरकार निर्माणका लागि अग्रसर हुने निर्णय लिएको थियो ।
पौडेलले प्रधानमन्त्रीबाट राजीनामा दिन ओलीलाई आग्रह पनि गरे । ‘उहाँले छोड्नुहुन्न भने हामी हटाउँछौँ’ पौडेलले भने–‘प्रधानमन्त्रीले राजीनामा नदिएका कारण हटाउन हामी बाध्य हुनुपरेको छ।’