News

थरुहट/थारुवान संघर्ष समितिलाई सरकारी टोलीले भन्यो– ठोस माग प्रस्तुत गर्नोस

थरुहट/थारुवान संघर्ष समितिलाई सरकारी टोलीले भन्यो– ठोस माग प्रस्तुत गर्नोस

सरकार र थरुहट/थारुवान संयुक्त संघर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ । गृह मन्त्रालयमा भएको वार्तामा सरकारी वार्ता टोलीले थरुहट/थारुवान संघर्ष समितिसँग ठोस माग प्रस्तुत गर्न आग्रह गरेको छ।

वार्ता सहमति उन्मुख रहेको र अर्काे चरणको वार्ता निकट भविष्यमै हुने सरकारी वार्ता समितिका सदस्य एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए। सङ्घर्ष समितिले राखेका मागका बारेमा थप व्याख्या र छलफल आवश्यक देखिएको उनले वताए ।

समितिले जेलमा रहेका रेशम चौधरीको रिहाइसहित १९ बुँदे माग राखेको छ।  तर सरकारले भने ठोस रुपमा माग लिएर आउन आग्रह गरेको छ।

थारु समुदायको माग जायज भएकाले वार्ता सकारात्मक रुपबाट अघि बढेको बताएका उनले सरकार थारु समुदाको माग र मुद्दाप्रति सकारात्मक’ रहेको वताए । 

संघर्ष समितिसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा (बादल) को नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र पूर्वसासंद भगवती चौधरी रहेको वार्ता टोली गठन गरेको छ। 

संघर्ष समितिका तर्फबाट पूर्वसांसाद रुक्मणी चौधरीको संयोजकत्वमा प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रप्रसाद चौधरी र प्रभात चौधरी सदस्य रहेको वार्ता टोली गठन गरिएको छ । 
२०७२ भदौमा कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो । उक्त घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित नेताहरु जेलमा छन् ।

विशेष