News समाज

मेलम्ची सपनाः जसको लाशमाथि उभिएर ओलीले ‘लड्डु खाने’ भाषण गरे

मेलम्ची सपनाः जसको लाशमाथि उभिएर ओलीले ‘लड्डु खाने’ भाषण गरे

२२ वर्षको अथक प्रयास र ३५ अर्ब रुपैयाँ खर्च गरेर ०७७ फागुन २२ गते मेलम्चीको पानी काठमाण्डौं आईपुग्यो। 

पानी काठमाण्डौमा ल्याउने क्रममा जस लिनेको होडवाजी चल्यो, पटक पटक उद्घाटन भए । फागुनको पहिलो साता दोस्रो पटक सुरुङमा पानी पठाएर परिक्षण गर्ने क्रममा खानेपानी मन्त्री मणीचन्द्र थापाले उद्घाटन गरे ।

मेलम्चीबाट पठाएको पानी साढे २६ किमी सुरुङ भरिएर काठमाडौ आइपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते दोस्रो उद्घाटन गरे। सुन्दरीजलमा आएको पानीको स्वागत गर्दै प्रधानमन्त्री ओलीले यसलाई खुसी हुने र ‘लड्डू खाने’ अवसर भएको बताएका थिए । ‘आज अत्यन्त खुसीको दिन हो । लड्डू जतिबेला पायो त्यतिबेला होइन यस्तो बेलामा खानुपर्छ,’ भन्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ब्यंग्य पनि गरे ।

उनले आयोजना सम्पन्न हुन लामो समय लागेको र आफूले त्यसलाई सम्पन्न गरेको भन्दै आफु अघिका सरकारको आलोचना गर्न पनि भ्याए। 

चैत १५ गते कर्मचारीहरुले मेलम्चीको पानी परीक्षण वितरण गरे । यति मात्रै होईन चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको विधिवत उद्घाटन गरिन। 

उद्घाटनको यो सृंखलालाई लेखक खगेन्द्र संग्रौलाले आलोचना पनि गरे । आयोजनामा सिन्को पनि नभाँचेको असम्वन्धित ब्यक्तिले जलप्रवाहको उद्घाटन गरेको भन्दै उनले असन्तुष्टि जनाए । उनले ट्वीटरमा लेखेका छन्– ‘धारामा पानी आएको चार दिनपछि मेलम्ची खानेपानी योजना निर्माणमा सिन्को पनि नभाँच्ने राष्ट्रपति विद्याका बाहुलीबाट जल–प्रवाहको उदघाटन भएछ। उदघाटनमा हत्ते हाल्ने प्रधाानमन्त्री ओली र राष्ट्रपति विद्याका पवित्र बाहुलीबाट वागमती, विष्णुमती र टुकुचाको समेत उद्घाटन हुन बेर छैन!’

अर्कोतर्फ नेपाली कांग्रेसले पनि मेलम्चीको जस लिने प्रयास गर्यो । यस प्रसंगमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले चैत १९ गते विज्ञप्ति नै जारी गरे । २०४६ सालको जनआन्दोलनपछि वनेको सरकारका प्रधानमन्त्री स्वर्गीय कृष्ण प्रसाद भट्टराईले मेलम्ची खानेपानी आयोजनामा चासो देखाएका थिए । फलस्वरूप २०५१ सालमा यस आयोजनाको निर्माण गर्ने घोषणा र त्यसपछि बिधिवत रुपमा काम शुरु भएको थियो ।

 

तर,  मेलम्चीको पानी काठमाण्डौंसम्म ल्याई पुर्याउन आफनो ज्यानै गुमाएका कर्मचारी/कामदारका विषयमा भने कसैले चासो देखाएन। यस प्रसंगमा आम मानिसले आलोचना पनि गरे । 

०७७ असार ३० गते परीक्षणमा रहेको सुरुङमार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट खुलेर दुर्घटना भएको थियो। सो क्रममा निरीक्षणमा रहेका चार कर्मचारीलाई सुरुङबाट बाहिरिएको पानीले बगाएको थियो। २७ बर्षीय इन्जिनीयर सतीश गोइत र ५६ बर्षका चालक राधाकृष्ण थापाले ज्यान गुमाए। इन्जिनीयर शेखर खनाल र पेमादोर्जे तामाङ्गको भने घाईते अवस्थामा उद्धार गरिएको थियो । तर, तिनीहरुको योगदानको कदर नभएको मनिष झाले वताए ।

उनी ट्वीटरमा लेख्छन्–‘काठमाडौंमा मेलम्चीको पानी पुर्याउन खटिएका इन्जिनियर सतिश कुमार गोइत। सुरुङ परीक्षणका क्रममा आयोजनाको १७ नम्बर गेट फुट्दा उनको मृत्यु भयो। आज पानी आएपछि दलहरुले आ–आफ्नो राजनीतिक उपलब्धि दावि गर्दैछन्। तर यस्तो योगदानहरू याद गर्दैनन्।’

मेलम्ची  प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारी उद्घाटन

विशेष