कर्णाली प्रदेशमा एमालेका तीन मन्त्रीले दिए राजीनामा, सरकार अल्पमतमा
कर्णाली प्रदेश सरकामरमा रहेका एमालेका तीन मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । संसदीय दलको वैठकले दिएको निर्देशन अनुसार उनीहरुको राजिनामा आएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले सामुहिक रुपमा सरकार छोडेका हुन। तिनै जना माधव नेपाल समूहका हुन् ।
तीन मन्त्रीको राजीनामा दिएपनि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने आफूसँग सरकार जोगाउने विकल्प बाँकी रहेको बताएका छन् ।
एमाले मन्त्रीहरूले राजीनामा दिन लागेपछि मुख्यमन्त्री शाहीले अन्तिम क्याबिनेट बैठक बस्न प्रस्ताव गरेका थिए ।
चैत ४ गते बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिइएको घोषणा गरेको थियो । उक्त निर्णयमा माधवकुमार नेपाल समूहका सांसद उपस्थित थिएनन्। केही सांसदले समर्थन कायमै रहेको बताउँदै आएका थिए। आइतबारको बैठकमा भने दुबै पक्षका १९ जना सांसद सहभागी थिए।