पत्रकार महासंघको आज चुनाव : दुई उम्मेदवार बिच मुख्य प्रतिस्पर्धा

पत्रकार महासंघको आज चुनाव : दुई उम्मेदवार बिच मुख्य प्रतिस्पर्धा


काठमाडौ
नेपाल पत्रकार महासंघ नयां नेतृत्वको लागि पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली आज अन्र्तगत निर्वाचन हुदैछ  । निर्वाचनमा मुख्य रुपमा नेपाली काग्रेस निकट मानिएको प्रेस युनियन नेतृत्वमा रहेको गठबन्धन र नेकपा एमाले निकट प्रेस चौतारी बिचमा मुख्य प्रतिस्पर्धा रहेको छ । चौतारीको गठबन्धनमा जसपाका निकट प्रेस मंच रहेको छ भने युनियनको गठबन्धनम माओवादी केन्द्र निकट प्रेस सेन्टर सहित १२ वटा संघ संगठनको गठबन्धन रहेको छ । उम्मेदवारहरुले भेटघाट गरेर, फोन गरेर र सामाजिक सन्जालमार्फत् भोट माग्दै आएका छन् ।
महासंघको नयाँ नेतृत्वका लागि निर्मला शर्मा र विपुल पोखरेल प्यानलसहित चुनावी मैदानमा छन् । अध्यक्ष पदकै लागि गजेन्द्र बुढाथोकी पनि चुनावी प्रतिष्पर्धामा छन् । उम्मेदवारहरुले श्रमजिवी पत्रकारको पेशागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य मुद्दा बनाएका छन् । यसै गरी वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट प्रतिष्पर्धामा छन् भने समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंह प्रतिष्पर्धा गर्दैछन् । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी प्रतिष्पर्धा गर्दैछन् भने महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतम भिड्दैछन् ।
प्रदेश तथा जिल्ला समितिहरुको नयाँ नेतृत्वका लागि पनि बुधबार नै मतदान हुँदैछ । प्रदेश तथा जिल्लाका केही पदहरुमा भने पत्रकारहरु सर्वसम्मत चयन भएका छन् ।

महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ ।

मतदान सम्पन्न भएपश्चात बुधबार नै मतगणना शुरु गरिने छ । कुनै बाधा नभए चैत २६ गते सबै तहको मतपरिणाम आउने महासङ्घको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले जानकारी दिनुभयो । निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ । केही शाखा र प्रतिष्ठानमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भए पनि आज चैत २५ गते मात्रै निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । यस निर्वाचनमा तीन हजारभन्दा बढी पदाधिकारी तथा सदस्य निर्वाचित हुने र त्यसमा महिलाको उपस्थिति ३३ प्रतिशतभन्दा बढी रहने संयोजक काफ्लेले बताउनुभयो । महासङ्घका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको छ । केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिनुभएकोे छ भने गजेन्द्रसिंह बुढाथोकी पनि अध्यक्षको प्रत्याशी हुनुहुन्छ । प्रत्येक तीन वर्षमा सबै समिति तथा शाखाहरुको निर्वाचन हुने महासङ्घमा हाल सबै समितिका नेतृत्व चयनका लागि सबै सदस्यहरुको प्रत्यक्ष मतदानको व्यवस्था गरिएको छ । महासङ्घमा हालसम्म कुनै पनि अध्यक्षको कार्यकाल दोहोरिएको छैन । महासङ्घले आफ्नो सङ्गठनलाई सङ्घीयता अनुरूप ढाल्दै प्रदेश समिति तथा प्रदेश परिषद्हरु पनि गठन गरिसकेको छ । देशका सात प्रदेशसहित काठमाडौँ उपत्यकालाई छुट्टै एकाइ मानी आठ भौगोलिक प्रदेश र प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाहरु रहने प्रतिष्ठान एवं एसोसिएट दुई गैरभौगोलिक प्रदेश गरी महासङ्घका १० प्रदेश समिति र परिषद् छन् ।

महासङ्घका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् । महासङ्घको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य सङ्ख्याअनुसार रहने व्यवस्था छ । नेपाल पत्रकार महासङ्घ सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता सङ्गठन हो । देश विदेशमा रहेका नेपाली पत्रकारहरुलाई सङ्गठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्ने र श्रमजीवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु महासङ्घको मूल ध्येय, लक्ष्य र दायित्व हो । विसं २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार सङ्घको निरन्तरताका रूपमा महासङ्घ रहेको छ । विसं २०५३ जेठ २९ मा सङ्घलाई महासङ्घमा रूपान्तरण गरिएको हो ।

काठमाडौं नेपाल पत्रकार महासंघ

संम्बधित खबर

विशेष