News राजनीति

कांग्रेस सांसदलाई मुख्यमन्त्री गुरुङ्गको प्रश्न– भ्रष्टाचारमा जेल परेकालाई १५ किलोको माला लगाउने पार्टी कस्को ?

कांग्रेस सांसदलाई मुख्यमन्त्री गुरुङ्गको प्रश्न– भ्रष्टाचारमा जेल परेकालाई १५ किलोको माला लगाउने पार्टी कस्को ?

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले कांग्रेस वलियो भयो भने लोकतन्त्र धरापमा पर्ने वताएका छन् ।

वुधवार प्रदेश सभामा सांसदहरुले उठाएको सवालको जवाफ दिदै उनले यस्तो वताएका हुन । ‘वास्तवमा कांग्रेस बलियो भयो भने लोकतन्त्र धरापमा पर्छ’ उनले भने–‘यो जनताको अनुभव हो । भोगेको यथार्थ कुरा हो ।’

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले कम्युनिष्टहरुले सँधै देशमा समस्या चर्काउने र कांग्रेसले सँधै समस्या समाधान गर्ने गरेको भन्दै प्रधानमन्त्रीले संविधान मिचेकोदेखि कम्युनिष्ट सरकारले भ्रष्टाचारका काण्डैकाण्ड मच्चाएकोसम्मका आरोप लगाएका थिए । सोहि कुराको जवाफ दिदै मुख्यमन्त्री गुरुङ्गले यो मुलुकमा समस्याको जड नेपाली कांग्रेस भएको वताए । 

‘१५ सालमा चुनाव भयो । त्यसमा कांग्रेसले ६९ प्रतिशतभन्दा बढी सिट जितेको होइन ? तर त्यो सरकार कति महिना चल्यो ? दुईतिहाइको सरकार १५÷१६ महिना पनि चलेन । योग्य भएको भए, सक्षम भएको भए, राम्रो काम गरेको भए चलाउँदैनथ्यो ? चलाएन मात्र होइन, उसको नालायकीपन, मैमत्ता र घमण्डका कारणले राजा महेन्द्रलाई ३० वर्ष पञ्चायती व्यवस्था हाँक्ने अवसर मिल्यो’ उनले थपे–‘लामो लडाई लडेर ४६ सालमा बहुदल आयो । तर, त्यसलाई फेरि कसले दरबारको पटाङ्गिनीमा लगेर बुझाएको ? मनमोहनले हो ? माधव नेपालले हो ? केपी ओलीले, प्रचण्डले हो ? होइन । माननीय शेरबहादुर देउवाले र कांग्रेसले हो ।’

फलस्वरुप फेरि प्रजातन्त्रका लागि लडाईं लड्नुपरेको उनले स्मरण गराए । युद्धमा रहेको पार्टीलाई शान्तिप्रक्रियामा ल्याएर उसैसँग मिलेर राजाको विरुद्धमा लडाई लड्नुपरेको उनले वताए 

कम्युनिष्टहरु कहिलै पनि अरुको इसारामा नहिड्ने र अरुवाट परिचालित नहुने उनको दावी थियो । ‘हामी कहिल्यै अरुबाट सञ्चालित हुन्नौं । हाम्रो देशभक्ति नाकाबन्दीका बेला देखाएका छौं । संविधान निर्माणका बेला देखाएका छौं । लिपुलेकमा देखाएका छौं । हामी देशका लागि देशभक्तिपूर्ण भावनाका साथ लड्ने पार्टी हौं । देशमा देशभक्त पार्टी कोही छ भने त्यो हामी हौं’ गुरुङ्गले भने–‘अस्ति भर्खरसम्म मान्छेले के आरोप लगाउँथे कांग्रेसलाई ? यो विदेशी दलाल हो भन्थे । नेपाल भारतको प्रशासकीय इकाइ हो भन्ने कांग्रेसकै नेताहरु होइनन् ? नेपाल कुनै इकाइ हो कि स्वतन्त्र मुलुक ? नेपाल आजसम्म आफ्नो सार्वभौमसत्ता जोगाउन सफल विश्वका १९ स्वतन्त्र मुलुकमध्ये एक हो कि होइन ? राजनीतिक स्टन्टवाजीका लागि जे पनि भन्ने ?’

कम्युनिष्ट सरकार भ्रष्टाचारका काण्डैकाण्डमा फसेको आरोपका विषयमा पनि गुरुङ्गले जवाफ दिए । ‘यो मुलुकमा सरकारी ओहदामा बसेर, मन्त्री बनेर, राज्यसत्ताको दुरुपयोग गरेर, अकुत सम्पत्ति आर्जन गरेर, सडकका मान्छे करोडपति बनेर, अदालतमा मुद्दा हारेर जेलमा बसेका चिरञ्जीवी वाग्ले, विजय गच्छेदार, खुमबहादुर खड्का, गोविन्दराज जोशी, जेपी आनन्द, कुन पार्टीका हुन् ? एउटा कम्युनिष्ट नेता जेल परेको देखाउनु’ उनले भने–‘भ्रष्टाचारमा जेल सजाय भोगेपछि निस्कने बेलामा युद्ध जितेर आएजस्तो, हजारौं मान्छेको सेवा गरेर, पुरुषार्थ देखाएर आएजस्तो १५ किलोको माला लगाएर स्वागत गर्ने तपाईंको पार्टी हो, हाम्रो होइन । यो कस्तो संस्कार हो तपाईंको पार्टीको ?’

ललिता निवास प्रकरणमा पनि उनले कांग्रेसका सांसदलाई दोहोलो काढे । ‘ललिता निवास प्रकरण अहिलेको सरकारको पालना भएको हो ? अहिलेको सरकारले गरेको एउटै मात्र काम– यसमा अनियमितता भएको छ, अख्तियार दुरुपयोग भएको छ भनेर शारदाप्रसाद त्रितालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको यो सरकारले हो’ उनले भने–‘त्यस कार्यदलले दिएको प्रतिवेदनका आधारमा आज अख्तियार प्रमुख भइसकेका दिप बस्न्यातजस्ता मान्छे जेलमा छन् । त्यो जेलमा हाल्या कसले हो ? तपाईंको सरकारले त होइन ? यही सरकारले हो । त्यसमा यी–यी प्रधानमन्त्री पनि संलग्न छन् भन्ने बाहिर निकाल्ने को हो ? अहिलेको सरकार हो ।’
 

कांग्रेस सांसद मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ भ्रष्टाचारमा जेल १५ किलोको माला

विशेष