News स्वास्थ्य

कोरोनाको दोस्रो लहरः अघिल्लो पटक भन्दा मृत्युदर बढ्न सक्ने

कोरोनाको दोस्रो लहरः अघिल्लो पटक भन्दा मृत्युदर बढ्न सक्ने

सरकारले पछिल्लो समय देखिएका कोरोना संक्रमित व्यक्तिहरूमा जटिल किसिमका लक्षणहरू देखा परेको भन्दै सतर्क रहन आग्रह गरेको छ।

संक्रमितको जटिल अवस्थाका कारण अहिलेका धेरै बिरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए। 

विज्ञहरुले पनि कोरोनाभाइरसको नयाँ भेरिएन्टबाट संक्रमित भइ कोही सिकिस्त भएमा अघिल्लो पटक भन्दा उपचार गर्न झन् कठिन हुने र मृत्युदर पनि बढ्नसक्ने वताएका छन् ।

जनस्वास्थ्य विज्ञ डा अनुप सुवेदीका अनुसार पहिलेको पटक हावाको प्रदूषण एकदम न्यून भएको थियो, जसले गर्दा दम र फोक्सोका अन्य दीर्घरोगी र अरूको पनि स्वास्थ्यमा धेरै सुधार भएको थियो। त्यसैले अघिल्लो उभारमा धेरैलाई कोभिड लाग्दा अरुबेलाभन्दा फोक्सो स्वस्थ अवस्थामा रहेको बेला लागेको थियो र त्यसले रोग थेग्न अपेक्षाकृत सजिलो भएको थियो ।

यस पटकको उभारमा वायु प्रदुषणले ऐतिहासिक रेकर्ड वनाएको श्वासप्रश्वास प्रणालीको स्वास्थ्य बिग्रेको अवस्था छ । श्वासप्रश्वासप्रणाली अस्वस्थ भएको बेला कोभिड पनि लागे दोहोरो समस्याको मार पर्ने उनले वताए ।

प्रवक्ता गौतमले भिडभाडले कोरोना संक्रमण फैलिन जोड दिने भएकाले २५ जनाभन्दा बढी मानिस भेला हुने रोक लगाउने गरी कोभिड रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी)लाई सिफारिस गरेको छ । विद्यालय, कलेज, सिनेमा हल, पार्टी प्यालेस पनि बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उनले वताए ।

छिटपुट रुपमा देखिदै आएको कोभिड–१९ का केसहरु गएको महिनाको भन्दा बढेर गएको डा. गौतमले वताए । अस्पतालमा आइसियुमा बिरामीहरु धेरै नै भर्ना भइसकेको जानकारी दिएका उनले अहिले कोरोनाको ग्राफ उकालो लागेको वताए । ‘अब बढ्न थाल्यो । अब हामीले ध्यान दिएनौँ भने फेरि संक्रमण एकदम बढेर जान्छ’– उनले भने।

प्रवक्ता गौतमले अहिले कोरोना सर्ने चेनलाई ब्रेक गर्नुपर्ने अवस्था आइसकेको पनि बताए । त्यसका लागि भिडभाड नगर्ने, दुरी काय गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने र लक्षण देखिए तुरुन्त जाँच गराउनुपर्ने बताए । यस्तै भिडभाड हुने सबै व्यवसाय तथा पेसालाई जनस्वास्थ्यका मापदण्ड पालना गराएर मात्रै सञ्चालन गर्न दिनुपर्ने पनि बताए ।

छिमेकी मुलुकमा कोभिड संक्रमण बढ्दो क्रममा रहेकाले नेपालले सीमा नाकामा शङ्कास्पद देखिएका विरामीको एन्टिजेन परीक्षण गर्ने र व्यवस्थापन गर्ने कार्यलाई तिब्रता दिएको पनि प्रवक्ता गौतमले बताए । 
 

विशेष