News विदेश Breaking News राजनीति

अफगान र पाकिस्तान सेनाबीच कान्धार क्रसिंग पाइन्ट नजिकै गोला हानाहान 

अफगान र पाकिस्तान सेनाबीच कान्धार क्रसिंग पाइन्ट नजिकै गोला हानाहान 

काबुल । अफगानिस्तान र पाकिस्तानका सैनिकहरूबीच सोमबार कान्धारमा क्रसिंग पाइन्ट नजिकै गोली हानाहान भएको छ । 

अफगानिस्तान टाइम्सका अनुसार अफगानिस्तान र पाकिस्तानी सैनिकहरूले सोमबार दक्षिणमा कन्धार प्रान्तको स्पिन बोल्दक जिल्लाको क्रसिंग पोइन्टमा एक अर्कामाथि गोली प्रहार गरेका हुन् । 

पाकिस्तान र अफगानिस्तानका सैनिकहरूबीच सोमबार कान्धारको क्रसिंग पाइन्ट नजिकै गोली हानाहान भएको अफगानी अधिकारीले पुष्टि गरेका छन् । यो घटना स्पिन बोल्दकको लोक्मान गाउँमा भएको र केही घण्टासम्म जारी रहेको अफगानी अधिकारीहरुले जानकारी दिएका छन् । 

कान्धारमा रहेका २०६ अटल सेना कोप्र्सका प्रवक्ता घोलम याह्या अलावीले उक्त क्षेत्रमा पाकिस्तानी सेनाले आक्रमण गरेपछि अफगानी सैनिकले जवाफी फायरिंग गरेको बताएका छन् । उनले त्यस क्षेत्रमा हाल स्थिति नियन्त्रणमा भएको र पाकिस्तानी सेनाहरु पछि हटेकोसमेत बताएका छन् । 

अलावीले एक अफगानी सिपाही घाइते भएको र एउटा गाडीमा क्षति पुगेको बताएका छन् । तर, पाकिस्तानतर्फ भएको क्षतिको विवरण भने पाकिस्तानी सेनाले सार्वजनिक नगरेको तथा त्यसतर्फ ठूलो हानी भएको हुनसक्ने अफगानी अधिकारीलाई उधृत गर्दै अफगानिस्तान टाइम्सले जनाएको छ ।

अफगानिस्तानका अधिकारीहरूले रमजानको पवित्र महिनाको सुरूदेखि नै पाकिस्तानी सेनाले उक्त क्षेत्रमा दुई पटक आक्रमणको प्रयास गरिसकेको बताएका छन् । यद्यपि पाकिस्तानी अधिकारीहरूले घटनाको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् ।

 

विशेष