News अपराध सुरक्षा

लकडाउनमा पनि लागूऔषध ओसारपसार : चार पक्राउ

लकडाउनमा पनि लागूऔषध ओसारपसार : चार पक्राउ

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन गरिरहँदा भारतसित सिमाना जोडिएको कञ्चनपुरमा भने लागूऔषधको कारोबार रोकिएको छैन । पछिल्लो दुई दिनमा प्रहरीले खैरो हिरोइनसहित दुई भारतीयसहित चार  युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले दुई दिनअघि यहाँको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमा स्तम्भ नजिक १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका १६ वर्षीय कृष्ण सिंह र २५ वर्षीय राजेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले यसअघि खैरो हिरोइन पैठारीमा यहाँका सीमा नाकाबाट एक दर्जनभन्दा बढी भारतीय युवकलाई पक्राउ गरेको छ ।

त्यसैगरी प्रहरीले यहाँको दोधारा चाँदनीबाट पनि स्थानीयवासी ३३ वर्षीय प्रेमदत्त भट्ट र वेदकोट नगरपालिका–२ का ३२ वर्षीय केशव खत्रीलाई खैरो हिरोइनसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक भरत गिरीले बताए । उनले अभियुक्तहरुको साथबाट १४.६९ ग्राम खैरो हिरोइनसमेत बरामद गरेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पक्राउ परेका अभियुक्तहरुलाई मुद्दा चलाएर कारबाही अघि बढाइने बताए। “लागूऔषध कारोबारी प्रहरी लकडाउनमा व्यस्त छ भनेर सलबलाए”, उनले भने– “तर प्रहरीले सबैतिर निगरानी बढाइरहेको छ ।”

लकडाउन लागूऔषध ओसारपसार चार पक्राउ

विशेष