News

ताप्लेजुङ र नेपालगञ्जमा गरी ५ कोरोना संक्रमितको मृत्यु

ताप्लेजुङ र नेपालगञ्जमा गरी ५ कोरोना संक्रमितको मृत्यु

ताप्लेजुङ र नेपालगञ्जमा गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन निवासी एक पुरुष र वृद्धा महिलाको सङ्क्रमणका कारण मृत्यु भएको हो । 

सिडिओ उमेश पाण्डेका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको शनिबार दिउँसो मृत्यु भएको हो । कोरोना सङ्क्रमण भएपछि केही दिनअघिदेखि प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उनको उपचार गराइँदै आएको थियो । 

यस्तै, शुक्रबार राति ८५ वर्षीया वृद्धाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । लामो समयदेखि मुटुरोगबाट ग्रसित वृद्धालाई झापास्थित बिर्तासिटी अस्पतालमा उपचार गराएर शुक्रबार घर फर्काइएको थियो । घर फर्काएकै दिन राति वृद्धाको मृत्यु भएको हो।

यसैगरी, नेपालगञ्जस्थित अस्पतालमा भर्ना भएका थप तीन कोरोना सङ्क्रमितको शनिवार मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुष,४ निवासी ५८ वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताए।

वैशाख १५ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएकी नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ५८ वर्षीया महिलाको बिहान सवा ९ वजे र भेरी अस्पतालमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुषको बिहान साढे १० बजे मृत्यु भएको हो ।  

यसैगरी, भेरी अस्पतालमा वैशाख १३ गते भर्ना भएका दाङ तुलसीपुर उपमहानगरपालिका–६ निवासी ४६ वर्षीय पुरुषको दिउँसो ३ बजे मृत्यु भएको वलीले बताए ।

विशेष