मानविय संवेदनहीनताको चरम रुप: सडकमा लाश छोडेर एम्बुलेन्स वेपत्ता
सन्तोष गुप्ता/वराहक्षेत्र
कोरोना महामारीमा लकडाउनले शुन्य बनेको वराहक्षेत्रको चतराघाट स्थित सडकमा सांझ करिव सांढे ५ वजे वाटोमा एक्कासी भिड जम्मा भयो । बिना कारण हिंडडुल समेत बन्देज गरिएको वाटोमा त्यसरी भिड भएपछि स्थानिय प्रहरी तत्काल त्याहाँ पुग्यो ।
भिडलाई पन्छाएर हेर्दा, समाजको अमानवियताको चरम रुप देखेर प्रहरी समेत छक्क प¥यो, उसले भुईमा रातो कपडा छोपिएको एक निर्दोष किशोरको मृत शरिर देखेर सोधपुछ गर्न शुरु गर्छ ।
सोधपुछ गर्दै जाँदा मंगलवार विहान खोटाङ्गको चिसापानीको घोर्ले भन्ने स्थानमामा भएको टेम्पो दुर्घटनामा, गम्भिर घाईते भएर उपचार गराउँन विराटनगर आएका १२ वर्षका मृतक गोकुल परियार रहेछन् । उनको शरिर कपडाले नछोपेको अवस्थामा त्यतिकै खुल्ला थियो, खुल्ला सडक माथी खुल्ला मृत शरीर । स्थानिय श्याम श्रेष्ठले तन्ना दिएर लाश छोप्न लगाए ।
लाशको छेवैमा रुन्चे भएर बसेका मृतकका दाजु बम वहादुर परियारलाई प्रहरीले, किन यसरी बसेको भनेर सोध्दा, भाई लाई लिएर आएको एम्बुलेन्सले भाईको वाटोमा निधन भएपछि, दुवैलाई अनजान वाटोमा अलपत्र पारेर छोडेर गएको भन्दै डांको छोडेर रुनथाले ।
टेम्पो दुर्घटनामा गम्भिर घाईते बनेका ३५ वर्षका चालक जिवन राई र किशोर गोकुल लाई लिएर विराटनगर हिंडेका एम्बुलेन्स चालक हिमाल शाक्यले, दिवंगत गोकुल प्रति कत्तिपनि मानविय संवदेना नदेखाई, अपमान जनक रुपमा बस्तु झारे जस्तो गरि लाश ओराल्न लगाई घाइते राईलाई लिएर वाटो लागे ।
चतरा प्रहरीका सई अमर कुमार लावतीले तत्काल चालक शाक्यलाई फोन गरेर थर्काएपछि करिव आधा घंटा पछि आएका चालकले, लाश र मृतकका दाजुलाई लिएर एम्बुलेन्स विराटनगर तर्फ फर्काएको सई लावतीले बताए ।
घटनामा गम्भिर घाईते बनेका राईको ज्यान बचाउँन उनलाई जतिसक्दो छिटो अस्पताल पु¥याउनु धेरै राम्रो कुरा हो । राई प्रति हार्दिक सहानुभुति छ, उनको शिघ्र स्वास्थ्य लाभको कामना गरौं । तर एउटा लाई बचाउँने प्रयास गर्दा अर्को लाई विशेष गरि मृत शरिरलाई त्यसरी छोड्नु मृतकको अपमान त हो नै, साथै गैर जिम्मेवार चालकको चरम लापरवाही पनि ।
यस प्रकारको व्यवहारले एकातिर वेवारिसे मृत शरीर लाई उसको मोक्षको कामना गर्दै विधिअनुसार अन्तिम संस्कार गरेर, मृतक लाई सम्मान दिने, नेपाली संस्कृतिको समेत अपमान गरेको देखिन्छ ।
भने अर्कोतर्फ प्रतिकुल स्थितीको बाहाना बनाउँदै चालक त्यसरी धैर्यता गुमाउँदा समाजमा मानवियता हराएर कुसंस्कार मौलाउँदै गएको भान हुन्छ । गम्भिर भएर सोच्ने हो की ! यो सामग्री ब्लास्ट खबरबाट साभार गरिएको हो।