News राजनीति

सरकार गठनका वारेमा यसो भन्छन् कांग्रेसका सांसद

सुनिल धामी

सरकार गठनका वारेमा यसो भन्छन् कांग्रेसका सांसद

संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समयसीमा आज बेलुकी ९ बजे सकिदैँछ ।

केहि घण्टाको समय वाँकी छँदा पनि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा बहुमतको सरकार गठन गर्न नेपाली काँग्रेस प्रयासरत छ । 

कोरोना महामारीले देश आक्रान्त भइरहेको अहिलेको परिस्थितीमा नेपाली काँगे्रस सरकारमा जान उपयुक्त हो वा होईन भन्ने विषयमा काँग्रेसका सांसदको धारणा भने फरक–फरक छ । नेपाली काँग्रेस अर्घाखाचीका समानुपातिक सांसद मानबहादुर विश्वकर्मा नेपाली काँग्रेस सरकारमा जान तयार रहेको बताउँछन् ।

‘हामी सरकार गठनको तयारीमा छौँ । कतिसम्म सफल भैईन्छ त्यो अरु दलसँगको सहकार्यको विषय हो’ उनले भने। कोरोनाको महामारी नियन्त्रण गर्न सरकार असफल भएकाले नेपाली काँगे्रसले सरकारको नेतृत्व गर्नुपर्ने उनको भनाइ छ । ‘कोरोना नियन्त्रण गर्न हामीले बारम्बार सुझाव दिएका छौँ, यदि हामीले सरकारलाई सुझाव दिन सक्छौ भने कोरोना नियन्त्रण पनि गर्न सक्छौ’ उनी भन्छन्–‘त्यसैले सरकार सञ्चालन गर्ने जिम्मेवारी पायाँै भने यो समस्याको समाधान गर्न हामी तयार छौ ।’

नेपाली काँग्रेस रसुवा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद मोहन आचार्यले यो समयमा पार्टी सरकारमा जानु भन्दा पनि पहिलो प्राथमिक्ता कोभिडलाई दिनुपर्ने बताए । उनले भने, ‘पहिलो प्राथमिक्ता कोभिडलाई दिनुपर्छ । अक्सिजनको हाहाकार छ । सरकारमा जानैपर्नै भएपनि योजना सहित जानुपर्दछ ।’

नेपाली काँग्रेस खोटाङ्गका समानुपातिक सांसद हिरा गुरुङ्गले वर्तमान सरकारको विकल्प दिनुपर्ने कुरामा जोडदिए । वर्तमान सरकार लोकतन्त्रको रक्षा गर्न असफल भएको, भ्रस्टाचार बढेको तथा कोरोना महामारीको नियन्त्रण गर्न नसकेकाले विकल्प खोज्नुपर्ने उनले बताए । ‘समिकरण गरेर सरकारको नेतृत्व जसले गरेपनि हुन्छ’ उनी भन्छन्–‘अहिलेको देशको स्थिति गम्भिर छ । जनताले भनेको बेला औषधी पाएका छैनन् । सरकारको जनताप्रतिको केहि भरोसा छैन । औषधीमा कमिशन छ । दुईतिहाईको सरकार हुँदा पनि जनता मरिरहेका छन् । सरकार टुलुटुलु हेरिरहेकोछ । केहि गर्न सकिरहेको छैन ।’

नेपाली काँग्रेस बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सञ्जय कुमार गौतमले वर्तमान संसदबाट नै वैकल्पिक सरकार दिनुपर्ने बताए । केपी शर्मा ओली नेतृत्वको सरकार असफल भैइसकेकाले प्रमुख प्रतिपक्ष भएको नाताले काँगे्रसले विकल्प दिनुपर्ने उनको भनाई छ।

केपी ओलीको बर्हिगमन नै नेपाली काँग्रेसको पहिलो प्राथमिकता भएको उनले वताए ।

विशेष