News राजनीति

वामदेव यस कारण चाहान्छन् प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय शासन प्रणाली

संसद्का दुबै सदनबाट मन्त्रिपरिषद् सदस्य हुन नपाउने व्यवस्था गरिनु पर्छः गौतम

वामदेव यस कारण चाहान्छन् प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय शासन प्रणाली

नेकपा एमालेका नेता वामदेव गौतमले नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति शासन प्रणाली र व्यक्ति हैन पार्टी निर्वाचित हुने (पूर्ण समानुपातिक) निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने वताएका छन् ।

पत्रकारहरुसँगको कुराकानीका क्रममा नेता गौतमले राष्ट्रपतीय प्रणालीमा संसद्का दुबै सदनबाट मन्त्रिपरिषद् सदस्य हुन नपाउने व्यवस्था गरिनु पर्ने र संसद्को काम नीति, कार्यक्रम र बजेट पारित गर्ने, कानून निर्माण गर्ने, संविधान संशोधन गर्नुका साथै राष्ट्रपति र संवैधानिक निकायका पदाधिकारी तथा सदस्यहरूमाथि महाअभियोग लगाउने अधिकारसहित सन्तुलन कायम गर्ने खालको हुनु पर्ने वताए ।

‘संसद्ले कार्यकारी प्रमुखका रूपमा प्रधानमन्त्री चुन्ने प्रणाली हाम्रो देशका निम्ति असफल सावित भएको छ, हामी अब प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्छ भन्ने विचार ०६४ साल अगाडिनै दिएको थिएँ । त्यसबेला उपस्थित कसैले पनि मेरो विचारलाई समर्थन गर्नुभएन’ उनले भने–‘०६४ को संविधानसभा निर्वाचनपछि अर्को संविधानसभा र नयाँ संविधानबमोजिम भएको पहिलो संसदीय प्रणालीअन्तर्गतको कार्यकारी प्रमुख प्रधानमन्त्री हुने अवस्था अहिले व्यहोरिरहेका छौं । यी सबै निर्वाचन र पहिलेका निर्वाचनबाट बनेका संसद् र सरकारहरूका क्रियाकलापले प्रमाणित गरेका छन् कि, हाम्रो देशमा संसद्बाट निर्वाचित कार्यकारी प्रमुख प्रधानमन्त्री हुने प्रणाली पूर्णरूपले असफल सावित भएको छ ।’

त्यस्तै, प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रणाली लागू गरिनुपर्ने उनले वताए । राष्ट्रपति र मुख्यमन्त्रीलाई आवश्यकता पर्दा प्रतिनिधिसभा र प्रदेशसभा भंग गरेर निर्वाचनमा जाने विशेषाधिकार हुने व्यवस्था गर्नुपर्ने उनको भनाई छ। ‘यस्तो प्रणालीअन्तर्गत केन्द्र र प्रदेशमा पनि विषयविज्ञताका आधारमा मन्त्रीहरू बन्नेछन् । हामीले अवलम्बन गर्ने मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय समाजवाद हुनुपर्नेछ’ उनले थपे–‘पार्टी कार्यक्रमको नाम बहुदलीय समाजवाद राख्नुपर्नेछ । नयाँ बन्ने पार्टीमा यी नीति विचार प्रस्तुत गर्ने र सार्वजनिक बहसमा लैजान पाउने सर्त रहने छन् ।’ यि सवै कुरा केहि समय अघि पनि आफुले झलनाथ खनाल र मधव नेपाललाई वताएको उनले सुनाए । ‘वहाँहरु दुवै जना हामीलाई सहयोग गर्नु पर्यो भन्दै आउनु भएको थियो, मैले यहि कुरा गरेको थिए’ गौतम भन्छन्–‘आउनुभएका नेताहरूले त्यहाँ खुलेर समर्थन जनाउनु भएन ।’

एमाले विभाजनको संघारमा पुग्नुका पछाडि अध्यक्ष ओली र नेता नेपाल दुवै जिम्मेवार रहेको वताएका गौतमले तर, अध्यक्षको नाताले र विधान उल्लंघन गरेको हुनाले अध्यक्ष केपी ओली नै बढी जिम्मेवार रहेको जिकिर गरे।

अन्तरसंघर्षको निर्णायक घडीमा पनि तटस्थ बसेर खराब प्रवृत्तिलाई बढावा दिएको आफु माथि लाग्ने गरेको आरोपका विषयमा प्रष्ट पार्दै नेता गौतमले भने–‘ममाथि लगाइएको त्यो आरोप गलत छ । पार्टीभित्र छरपष्ट उत्पन्न भएका र दुई अध्यक्षहरूले समाधान गर्न नसकेका विषयवस्तुलाई संकलन गरेर दस्ताबेजका रूपमा पार्टीमा राखी व्यवस्थित छलफलबाट समाधान गरी अन्तरपार्टी संघर्षलाई पार्टीभित्रै व्यवस्थापन गर्न मैले नै प्रयत्न गरेको हुँ । तर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव सदनमा लैजाने प्रयत्नको मैले सधैं विरोध गरेँ र कतिपय प्रयत्नलाई असफल गराएको हुँ । अन्तिम पटकको प्रयत्न मलाई थाहा हुन सकेन । वादवाँकी कुरामा जति समस्या आए ति सबै क्रियाकलाप वामदेवकै कारण भएका हुन् भनेर आरोप लगाउनेहरू आँखामा पट्टी बाँधेर हिँड्नेहरू हुन् ।’

प्रधानमन्त्री ओलीले आफु अध्यक्ष हुने तर अरु सवैको पद खारेज हुने गरी गरेको निर्णय पार्टीको विधान विपरित भएको उनले सुनाए । ‘तपाईंको अध्यक्ष कायम हुने तर तपाईंलाई अध्यक्ष बनाउने मुख्य व्यक्ति मेरो उपाध्यक्ष पद तपाईंले कसरी खाइदिन सकेको भनेर मैले मजाक पनि गरेंको थिए’ उनले भने–‘त्यसैबेला उहाँले भन्नुभयो, त्यो त फर्काइदिउँला नि ! मैले फेरि भनेँ– तपाईंले दिने उपाध्यक्ष हैन, महाधिवेशनले दिएको मेरो उपाध्यक्ष पद चाहियो भनेको । त्यो त गइसक्यो,अब फर्केर आउन्न भनेर ओलीले जवाफ दिनुभयो ।’

ओली निवासमा भएको डिनर मिटिङ्गको स्मरण गर्दै उनले भने–‘त्यस वखत मैले तपाईले २८ फागुनमा गरेका निर्णय फिर्ता लिनुहोस् भनेँ, प्रधानमन्त्री नै भए पनि तपाईको प्रतिष्ठाभन्दा राष्ट्रको प्रतिष्ठा माथि हुन्छ भने। उहाँले आफु धेरै अगाडि वढिसकेको वताउँदै फर्किन नसक्ने जवाफ दिनु भयो ।’
 

विशेष