News समाज

वझाङ्गका युवाको अभियान– कोरोना संक्रमितलाई निःशुल्क खाना

जनप्रतिनिधि वेखवर

वझाङ्गका युवाको अभियान– कोरोना संक्रमितलाई निःशुल्क खाना

 सुनिल धामी

बैशाख १२ गते विहान सदरमुकाम चैनपुरमा होटल व्यवशाय गरिरहेका जीवन सिंहलाई हल्का जिउ दुख्यो। घाँटी पनि खसखस गर्यो। जिल्ला अस्पताल बझाङ्ग पुगेर एन्टिजेन परिक्षण गरे । उनलाई कोरोना पोजेटिभ देखियो ।

उनी केहि दिन होम आइसोलेसन बसे । स्वास्थ्य समस्या जटिल भएपछि जिल्ला अस्पतालको कोभिड कक्षमा भर्ना गरियो। अस्पतालमा सिंहसँगै उपचाररत करिब २० जना विरामी थिए । सिंहले कोरोनाका विरामी र कुरुवाले झेल्नुपर्ने सास्ती प्रत्यक्ष देखे र भोगे पनि ।

सरमुकाममै पनि कोरोना संक्रमितलाई खाना–पानीमा छुवाछुतको गरिएको पनि उनले महसुस गरे । उनले विस्तारै कोरोना जिते। तर, सिंह सामान्य नागरिक सरह घर गएर विश्राम गरेनन् । आफैले खाना–पानीको समस्या भोगेपछि सिंहले कोरोना संक्रमितलाई निःशुल्क खाना खुवाउने भभियान नै सुरु गरेका छन् । शुक्रबार सिंहले सामाजिक संजाल फेसबुकमा लेखेकाछन्,‘कोभिड संक्रमणले अस्पताल भर्ना भएका सबै विरामीको लागि होटल दोस्तीमा निःशुल्क खानाको व्यवस्था छ।’

निःशुल्क खाना खुवाउने अभियानमा विभिन्न व्यक्तिहरु जोडिदै गएको होटेल दोस्तिका संचालक जिवन सिंहले जानकारी दिए । निःशुल्क खाना खुवाउने अभियानलाई निर्माण व्यवशायी शेर बहादुर बोहराले २०हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । अभियानमा बझाङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेली, अखिल क्रान्तिकारी बझाङ्गका संयोजक देविजंग सिहं लगाएतका व्यक्तिहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । 

निषेधाज्ञाले सदरमुकामका होटेलहरु बन्द भए। कोरोनाको त्रासले होटेल संचालकहरु पनि सेवा प्रदान गर्न आनाकानी गरिरहेका छन् । सिंह भन्छन्,–‘कोरोना संक्रमितले खाना–पानी पाउने अवस्था छैन । मान्छे मान्छेसँगै डराउने अवस्था आएकोछ । ’

अस्पतालले उधारमै ल्याउँछ खाना

जिल्ला अस्पताल बझाङ्गले विरामीलाई उधारोमा खाना खुवाईरहेको छ । विरामीलाई उधारोमा खाना खुवाईरहेको जिल्ला स्वास्थ कार्यालयका प्रमुख भानु जोशीले बताए । ‘कोरोना संक्रमितलाई बाहिर खाना पाउने अवस्था छैन । हामीसँग पनि प्रयाप्त बजेट छैन’ उनले भने–‘विरामीलाई भोकै राख्न भएन बरु आफ्नै तलबबाट तिरौला भनेर उधारो मै खाना खुवाई रहेका छौं। कसैले सहयोग गरे रामै्र हुन्थ्यो ।’

विरामी र कुरुवाले खाना पाउन निकै सास्ति खेप्नु परेको केदारस्युँ गाउँपालिका १ का भिम भण्डारीले बताए । ‘म जिल्ला अस्पतालमा आफन्तको उपचार गर्न आएको ६ दिन भयो । बजारमा खाना पाउन असहज भएपछि छुट्टै कोठा नै लिएर बसेकाछौँ’– उनले आफनो वाध्यता सुनाए । 

जिल्ला अस्पताल बझाङ्गमा अक्सिजनको अभाव पनि चुलिदै गएको कार्यालय प्रमुख जोशीको भनाई छ । अहिलेको अवस्थामा कालंगा हाइड्रो पावरले उपलव्ध गराएको अक्सिजनले धानी रहेको उनले बताए । एकहप्ता भित्रमा एकसय पचास अक्सिजन सिलिण्डर उपलव्ध गराउन नसकिए जिल्ला अस्पतालमा संक्रमितको उपचार गर्न गाह्रो हुने उनले आंकलन गरे । कोरोना महामारीको यो समयमा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी र जिल्ला समन्वय समितिका संयोजक खड्क बहादुर खड्का बाहेक कसैले सहयोग नगरेको उनको गुनासो छ ।

बझाङ्गबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु कोरोनाको महामारीमा बेखबर रहेको कार्यालय प्रमुख जोशीले गुनासो गरे।

बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुग्दा बझाङ्गमा सक्रिय संक्रमितकोको संख्या ७ सय ३७ छ। यहाँ दोस्रो लहरको कोरोनाका कारण १० जनाले ज्यान गुमाएका छन् ।

विशेष