News स्वास्थ्य

जनकपुर अस्पतालमा तोडफोड हुनाको यस्तो छ भित्री कथा

साधान/श्रोत र जनशक्ति नहुँदा उपचार पाउनै मुस्किल, संक्रमित भुँईमै वग्रेल्ती

जनकपुर अस्पतालमा तोडफोड हुनाको यस्तो छ भित्री कथा

वीरेन्द्र रमण

जनकपुर– प्रदेश २ मा धनुषा र पर्सा कोरोनाको सबै भन्दा बढि प्रभावित जिल्ला हुन । तर यिनै जिल्लामा अस्पतालको अवस्था वेहाल छ। अस्पतालमा दक्ष जनशक्तिको आभाव छ, भएको जनशक्ति पनि मन लगाएर काम गरेको पाईदैन। उपचार सेवामा लापवाही गर्ने गरेकाले अस्पतालमा वेलावखत समस्या पनि देखिने गरेका छन् ।

तीनै तहका सरकारले कोरोना संक्रमितको उपचारमा स्रोत साधनको अभाव हुन नदिने वताई रहेका छन् । तर, धरातलीय यथार्थ भने फरक छ। उपचार नपाएर दिनहुँ कोरोना संक्रमितहरुको मृत्यु हुन थालेको छ ।

गत मंगलबार मात्रै प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि भर्ना भएका एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भयो। मृतकका आफन्तले अस्पतालको लापर्वाहीले संक्रमितको मृत्यु भएको आरोप लगाए । महोत्तरीको जलेश्वर अस्पतालमा उनको उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुरमा ल्याईएको थियो । मृतकका आफन्तले भने उनलाई अस्पतालमा भर्ना नै नगरिएको आरोप लगाए । सोहि आवेशमा आएर आफन्तले अस्पतालमा तोडफोड गरे भने स्वास्थ्यकर्मी माथि पनि हातपात गरियो।

यस अघि वैशाख २५ गते पनि महोत्तरीका एक कोरोना संक्रमितको भेन्टिलेटर नपाएर मृत्यु भएको थियो । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि जलेश्वर अस्पतालस्थित आइसोलेसन कक्षमा राखिएको थियो । अस्पतालमा भेन्टिलेटर त थिए तर भेन्टिलेटर चलाउने जनशक्ति नपाएर उनले मृत्यु रोज्नुु पर्यो ।

वैशाख १२ गते सर्लाहीका एक संक्रमितको पनि भेन्टिलेटर नपाएरै मृत्यु भयो । उनलाई उपचारकालागि विरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना त गरियो तर भेन्टिलेटर नभएपछि अन्यत्रै रेफर गरियो । उनलाई काठमाडौँ लाँदै गर्दा वाटोमै मृत्यु भयो।

वैशाख २१ गते धनुषाको बटेश्वरमा अर्को हृदयविदारक घट्ना देखियो । स्थानीय क्लिनिकहरुमा एक कोरोनाको शंकास्पद बिरामी आए। क्लिनीकमा उनको उपचार सम्भव भएन। उनी जनकपुरस्थित प्रादेशिक अस्पतालमा पुगे । तर त्यहाँ बेड खाली नभएपछि अर्को निजि अस्पतालहरुमा लगियो। त्यहाँ पनि उपचार नपाएपछि उनले भएका अधिकांश अस्पताल चाहारे । कतै पनि उपचार सम्भव नभएपछि उनका आफन्तले विरामीलाई बटेश्वरकै क्लिनिकमा फर्काए। तर, वाटोमै उनको मृत्यु भयो । कोरोनाका त्रासका कारण उनको शव आफन्तले वाटो मै छोडेर भागे । अन्त्यमा नेपाली सेनाको टोलीले मृतकको शव व्यवस्थापन गरेको थियो ।


समान मात्रै किन्ने जनशक्ति नराख्ने
कोरोनाको पहिलो लहरकै समयमा प्रदेश सरकारले विभिन्न अस्पतालहरुमा आवश्यक समानहरु खरिद गरेर राखेको छ। तर, अधिकांश अस्पतालमा ति उपचार चलाउने जनशक्तिको अभाव छ। उपकरण संचालन गर्ने जनशक्तिको आभावकै कारण कतिपय जिल्लामा संक्रमितको ज्यान जाने गरेका जानकारहरु वताउँछन् ।

प्रदेश सरकारका मन्त्री तथा मुख्यमन्त्रीहरुको भनाई मान्ने हो भने कोरोना संक्रमितहरुको उपचारका लागि आफ्नो पूरै शक्ति लगाएको छ । श्रोेत साधन अभाव रहेका अस्पतालहरुमा श्रोत ससाधन उपलब्ध गराइएको छ। यसैगरी, चिकित्सकको अभाव रहेका अस्पतालहरुमा जनशक्ति भर्ना गरिएको प्रदेश सरकारको दावी छ ।


तर अहिले सबैभन्दा बढी आवश्यक्ता भेन्टिलेटर चलाउने जनशक्तिको रहेको प्रदेश २ स्वास्थ्य निर्देशनालयका बरिष्ठ चिकित्सक डा. कमलेश यादव बताउँछन् । उनका अनुसार प्रदेश सरकारले करारमा जनशक्ति भर्ना त गर्यो तर एनेस्थेसियाको जनशक्ति पूर्ती गर्न सकेन । एनेस्थेसिया चिकित्सक नै भेन्टिलेटर चलाउन पूर्ण रुपमा सक्षम देखिएनन् ।

महोत्तरीको जलेश्वरमा रहेको जिल्ला अस्पतालमा ५ वटा भेन्टिलेटर छन् तर चलाउने जनशक्ति नै छैन । भेन्टिलेटर चललाउने जनशक्ति नभएका कारण एक जना पनि कोरोनाका बिरामी उपचारका लागि सो अस्पतालमा पुगेका छैनन् । महोत्तरी जिल्लामा कुल ७ सय ४१ जना कोरोनाका सक्रिय संक्रमित छन् । सबै होम आइसोलेसन नै रोजेका छन् । होम आइसोलेसनमा रहेका एक कोरोना संक्रमितले भने ‘जिल्ला अस्पतालमा राम्ररी केयर हुने अवस्था छैन, कमसेकम घरमै आइसोलेट हुँदा राम्रो केयर भईरहेको छ ।’   


जलेश्वर अस्पतालको अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डेले अस्पताललाई प्रदेश सरकारले २३ जना अस्थायी करारका जनशक्ति उपलब्ध गराएको जानकारी दिए । उनका अनुसार भर्ना गरिएका जनशक्तिमा स्टाफ नर्स र जेनरल मेडिसिन मात्रै छन् एनेस्थेसिया वा रेडियोलोजिक्ष्ट पठाइएको छैन । उनले भने ‘एनेस्थेसिया वा रेडियोलोजिष्ट नपठाइएपछि रहेका भेन्टिलेटर पनि प्रयोगविहिन अवस्थामै छन् ।


प्रदेश २मा अक्सिजन आपूर्तीको अवस्था पनि नाजुक नै रहेको छ । स्वास्थ्य निर्देशनालयका बरिष्ठ चिकित्सक यादवका अनुसार अहिले आईरहेका कोरोना संक्रमितहरुमा सबैभन्दा बढी श्वासप्रश्वासमा समस्या देखिएको छ । उनले भने ‘कोरोना संक्रमितहरुलाई अहिले अक्सिजन सिलिण्डर नितान्त आवश्यक छ तर अक्सिजन सहज रुपमा आपुर्ती हुन सकि रहेको छैन ।’ उनका अनुसार अक्सिजनका प्लाण्ट रहेका अस्पतालहरुमा अक्सिजन आपुर्तीमा समस्या छैन तर अक्सिजन प्लाण्ट नरहेका अस्पतालहरुमा एकदमै समस्या भईरहेको छ ।’

प्रदेश २को सिरहा तथा लहान अस्पतालमा मात्रै अक्सिजनको प्लाण्ट छ । तर कोरोना संक्रमितहरुको सबैभन्दा बढी चाप रहेको जनकपुरस्थित प्रादेशिक अस्पतालमा अक्सिजनको प्लाण्ट नै छैन । अक्सिजनका सिलिण्डर आपुर्ती भईरहेका अस्पतालहरुमा समेत त्यसमा प्रयोग हुने पाइप तथा मास्कको अभाव देखिएको छ । मंगलबार कोरोनाका शंकास्पद बिरामीको मृृत्यु हुनु अघि अक्सिजनको सिलिण्डर त प्राप्त भयो तर पाइप र मास्क उपलब्ध हुन नसक्दा उनलाई समयमै मास्क दिन नसकिएको जनाईएको छ।

प्रदेश २मा कोरोना महामारीको बेला श्रोत साधनको अभाव भईरहँदा पनि सरकार भने बेटी पढाउ बेटी बचाउ अभियानका लागि ल्याइएको हजारौँ साइकल बनाउनमै मस्त देखिएको छ । प्रदेशका जनता कोरोनका कारण त्राहिमाम गरिरहेको बेला सरकारलाई सो अभियान अन्तर्गत साइकल वितरणका लागि राखिएको बजेट फ्रिज नहोस त्यसको चिन्ता छ ।


प्रादेशिक अस्पतालमा रहेको कोभिड अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार अस्पतालमा हाल ३२ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ। तर आवश्यक जनशक्ति छैन । उनले भने ‘३२ कोरोना संक्रमितमध्ये १९ जना संक्रमित आइसीयुमा छन् उनीहरुको रेखदेखका लागि हरेक क्षण अलग अलग नर्सको आवश्यक्त पर्छ तर ६/६ जनाको टोली बनाएर ३ सिफ्टामा हामी काम गरिरहेका छौँ ।’

६ जनाको टिमले ३२ जना कोरोना संक्रमितहरुको रेखदेख गर्नु असम्भव नै रहेको उनको भनाई छ ।  

विशेष